समाज

देवकोटा चोकमा राखियो डमी प्रहरी

मन्थली बजार क्षेत्रमा राखिएको ट्राफिक प्रहरीको डमी र विद्यार्थीलाई ट्राफिक शिक्षा दिँदै ट्राफिक प्रहरी ।

रामेछाप- जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले मन्थली बजारको सडक सुरक्षामा नयाँपनको थालनी गरेको छ। सदरमुकाम मन्थलीमा बढ्दो यातायातका साधनले जोखिम बढाउन सक्ने संभावना बढ्दै गएपछि सडकमा हिड्ने पैदल यात्रु र सवारी साधनको सुरक्षाका लागि ट्राफिक प्रहरीले थप प्रभावकारी गतिविधि सञ्चालन गर्न लागेको हो। प्रहरीले सडकमा गुड्ने सवारी साधनलाई सडकमा सुरक्षा र सजगता अपनाउन घच्घच्याइ रहोस भनेर आइतबार मन्थली बजारको देवकोटा चोकमा ट्राफिक प्रहरीको डमी बनाएर राखेको छ।

झट्ट हेर्दा ट्राफिक प्रहरी नै बसे जस्तो देखिने उक्त डमीले सडकमा गुड्ने सवारी साधान र तिनमा सवार यात्रुका साथै नागरिकहरुको पनि सम्मान र सुरक्षामा ट्राफिक तैनाथ रहन्छ भन्ने सन्देश दिनका लागि डमि राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज रामेश्वर पाण्डेले बताए। ट्राफिकले गल्ति मात्र हेर्छ र जरिवाना काट्छ अनि दुःख मात्र दिन्छ भन्ने मानसिकतालाई चिर्दै अब हामी चनचेतनाका कार्यक्रममा सक्रिय हुने छौ पाण्डेले बताए। उनले भने सडक र यातायातको नियम बमोजिम सडकमा नियम उल्लंघन गर्नेलाई कारबाही गरिएता पनि राजश्व नै उठाउनका लागि भने ट्राफिक प्रहरी लागि नपरेको उनले बताए।

हामीले सजग गराउन र मान्छेलाई सचेत गराउन गरिएको गतिविधिलाई गलत व्याख्या गरिएको उनको भनाइ छ। हामी जनमानसमा रहेको गलत भ्रमलाई चिरेर सामाजिक हितका पक्षमा पनि काम गर्ने अभियानमा छौ पाण्डेले थप्दै भने यसका लागि सबै क्षेत्रको साथ सहयोग आवश्यकता रहेको बताए।

प्रहरीले बालबालिकाहरुलाई समेत ट्राफिक शिक्षा दिने तयारी थालेको छ। मन्थलीमा बाक्लो सवारी आगमन र विद्यार्थीहरुको बाक्लो चाप एकैसाथ हुन थालेपछि बालिबालिकाहरु दुर्घटनाको जोखिममा पर्ने भएपछि मन्थलीमा रहेका विद्यालयका विद्यार्थीहरुमा सडक प्रयोग गर्ने तरिकाका बारेमा जानकारी गराउन विद्यालयमा ट्राफिक शिक्षा सञ्चालन थालेको छ। ट्राफिक प्रहरीले आइतबार मन्थलीस्थित लिटिल स्टार बोर्डिङबाट विद्यालयमा ट्राफिक शिक्षाको थालनी गरेको छ।

विद्यालय जाने आउने समयमा बालबालिकाहरु जम्मा भएर अङगालो मारेर हिड्दा सडक दुर्घटनाको उच्च जोखिमा पर्ने संभावना देखेपछि बालबालिकाहरुलाई सडकमा कसरी सुरक्षित भएर हिड्ने, सडकको प्रयोग कसरी गर्ने भन्ने लगायतका ट्राफिक व्यवस्थापनका बारेमा जानकारी गराउने कामको थालनी गरिएको जिल्ला ट्राफिक कार्यालय रामेछापले जनाएको छ।

सडक दुर्घटना कम गर्न, यात्रु र पैदल यात्रीको सुरक्षाका लागि प्रभावकारी ट्राफिक व्यवस्थापनका कुनै कसुर बाकी नराख्न निर्देशन दिइ सकिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरिक्षक बसन्त पाठकले बताए।
 

प्रकाशित: २६ माघ २०७६ १३:०२ आइतबार

सडक_सुरक्षा ट्राफिक प्रहरी