समाज

‘वायसनेस’ले पत्रकारिताको गरिमा घटायो

खोटाङ– खोटाङमा आयोजित एक कार्यक्रमका वक्ताले ‘वायसनेस’ले पत्रकारिताको वेट घटाइरहेको बताएका छन्। प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले शनिबार दिक्तेलमा आयोजना गरेको ‘नागरिकको नजरमा मिडिया र पत्रकार आचार संहिता’ विषयक अन्तरक्रीया कार्यक्रममा सहभागीले एकथरी पत्रकारले एउटा पार्टी पक्षको प्रचारात्मक समाचारलाई प्राथमिकता दिने र विपक्षी पार्टीको खेदो खन्ने प्रवृत्तिले पत्रकारिताको गरिमा घटाइरहेको बताएका हुन् ।

नेकपाका नेता एवं पूर्वसांसद टंक राईले पत्रकारिता अझै पनि विश्वसनीय बन्न नसकेको बताए। ‘पत्रकारले नकारात्मक समाचारमा मात्र जोड दिइरहेको छ। सकारात्मक विषयलाई पनि चर्चामा ल्याउनु पर्छ,’ पूर्वसांसद राईले भने, ‘मिडिया संयमित र सुसंस्कृत हुन सकिरहेको छैन। राष्ट्रपतिलाई पनि तिमी भन्नु उपयुक्त होईन।’

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले एकथरी पत्रकारले सही लेख्ने गरे पनि अर्का थरी पत्रकारले गलत मनसायले समाचार लेख्ने गरेको गुनासो गरे। यस्तै, नेपाली कांग्रेसकी नेतृ डिल्लीकुमारी आचार्यले पत्रकार दलको कार्यकर्ताकै शैलीमा देखिनु दुःखद भएको बताईन्। समाजवादी पार्टीका अध्यक्ष टंक थापाले सत्तापक्षले पत्रकारितालाई आफू अनूकुल बनाउन खोज्दा गहन पत्रकारिताको अभाव खड्किएको बताए। राष्ट्रिय युवा संघका सहसंयोजक शरद राईले पत्रकारितामा राजनीति घुसेपछि पत्रकारिताको ‘वेट’ घटेको औंल्याए।

पत्रकारलाई लाखौं जरिवाना भर्ने कानून अमान्य
अन्तरक्रीया कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारलाई लाखौं जरिवाना भर्ने कानून मान्य नहुने बताए। मासिक १८ हजार रुपैयाँ तलव नपाउँदा आत्महत्या गर्नुपर्ने देशका पत्रकारलाई समाचार लेखेकै आधारमा लाखौं रुपैयाँ दण्ड जरिवाना जायज नभएको बताएका हुन्।

‘पत्रकारले कमजोरी गरे कारबाही गर्नुपर्छ तर तलव नपाउँदा पत्रकार मरिरहेको अवस्थामा उसैलाई लाखौं दण्ड जायज हो?,’ कार्यबाहक अध्यक्ष श्रेष्ठले भने, ‘कानून सर्वस्वीकार्य हुनुपर्छ। सफा मनले कानून ल्याइए एक रुपैयाँ जरिवाना पनि मान्य हुन्छ।’ श्रेष्ठले पत्रकारले अरुमाथि औंल्या ठड्याउने तर असनको साँढेजस्तो हुँदा पत्रकारिता बदनामित भएको बताए।

यस्तै, नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले समाचार लेख्ने पत्रकारलाई ज्यानमारा सरहको सजाय मान्य नहुने बताए। प्रेस सम्बन्धि कानून दण्डै दण्डबाट ठीक लगाउन सकिन्छ भन्ने मनोविज्ञानबाट आएको महासचिव बिष्टले बताए।

प्रकाशित: २६ माघ २०७६ ०९:४० आइतबार

वायसनेस पत्रकारिता गरिमा