समाज

हत्या अघिको त्यो अन्तिम पत्र : 'छोराछोरी बचाएर राख्नू, हिम्मत नहार्नू'

रोल्पा - सशस्त्र द्वन्दमा बुवा गुमाएकी रोल्पा नगरपालिका १ कि १८ वर्षिया ममता नेपालीले स्टाफ नर्स पढ्नका लागि प्रवेश परीक्षामा नाम निकालिन् तर आर्थिक अभावले पढ्न भने पाइनन्। उनी अहिले सदरमुकाममा रहेको बालकल्याण नमुना माध्यमिक विद्यालयमा कक्षा ११ पढ्दै छिन ।

जन्मनुभन्दा २८ दिनअघि नै बुवा गुमाएकी ममताले अहिले आएर सजाय भोग्दैछिन्। सदरमुकाममा सानो होटेल गरेर जीवन गुजारा गरिरहेकी आमाले पैसा जोहो गरिदिन नसकेपछि उनले नर्सिङ पढ्ने रहरलाई तिलान्जली दिइन्। २०५८ साल फाल्गुन २६ गते देखि १८ दिन अपहरणमा परेका प्रावि हरिगातिनाका २४ वर्षिय शिक्षक तिलकराम नेपालीलाई तत्कालिन विद्रोही माओवादीले ‘मृत्युदण्ड’(हत्या) दिनुअघि अन्तिम ईच्छा सोधे। रोल्पा नगरपालिका धनमुढाका नेपालीले आफ्नो परिवारलाई चिठ्ठी लेख्ने माग राखे।

केहि समयमा आफू मारिने जानकारी पाएका उनले २०५८ साल चैत १२ गते राति ९ बजे परिवारलाई ८ पेज लामो पत्र लेखे। तिलकले पत्रमा गर्भमा रहेको सन्तानको सम्झनामा श्रीमतीलाई यसरी सम्बोधन गरेर पत्र लेखेका थिए।

‘प्रिय मिना, तिम्रो काखमा मेरो रगतको अस्तित्व छोरो जयन्द्र छ। बैशाखमा कोखको अर्को बच्चा पनि जन्मिन्छ होला। छोरा वा छोरी जे जन्मिए पनि राम्रो स्याहार सुसार गरी बचाएर राख्नु। दु:ख भयो भनि हिम्मत नहार्नू।’

२०७४ मा आइएस्सी सकाएका ममताका दाजु जयन्द्र एमबिबिएस पढ्ने लालसामा बसिरहेका छन्। प्रवेश परीक्षा दिन्छन्, पेमेन्टमा नाम निस्किन्छ तर आर्थिक अभावले पढ्न पाइरहेका छैनन्। ‘एमबिबिएसका लागि ट्राई गरिरहेको छु तर भएको छैन। बिएस्सी पनि पढिरहेको छु।’ जयन्द्रले छात्रवृत्तीमा नाम निस्केला भन्नेमा अझै आश भने मारेका छैनन्। ममता र जयन्द्र जस्ता धेरै द्वन्दपीडितहरु बिगतको युद्धमा अभिभावक गुमाएका कारण विभिन्न समस्याको सामना गरिरहेका छन्।

२०५८ साल चैत १३ गते राति सदरमुकाम छेउमा मारिनुअघि लेखिएको पत्र लाशको माथि राखिएको थियो। राजनीतिको गन्ध कतै नघुसाइएको अन्तिम पत्रमा नेपालीले गरिबीका कारण आफूले सोचे अनुसार पढ्न नपाउनुको पीडा लेखेका लेखेका थिए।

‘परिपुरण र न्याय’ दुबै कुरामा राज्य मौन बस्न थालेपछि माओवादी द्वन्दका पीयडितहरु निराश बनेका छन्। बिना कसुर मारिएका तिलक जस्ता आम नागरिकका परिवारले न्याय त पाएनन् नै परिपुरण पनि नहुँदा परिवारको बिचल्ली भएको छ।

तिलककी श्रीमती मिना भन्छिन् ‘हामीलाई न कुनै सीपमुलक तालिम दिइयाे, न त कतैबाट ऋण सहयोग नै पाइयो। श्रीमान गुमाउनुको पीडा त छदैछ। छोरा छोरी हुर्किदै गएपछि उनीहरुलाई भने अनुसारको शिक्षा दिन नपाउदाको पीडा बेग्लै छ।’ अहिले पनि उनलाई राजनीति के हो भन्ने थाहा छैन तर त्यहि राजनीतिले सिंन्दुर मात्रै पुछेन खुसी समेत उडाएर लग्यो। ‘मेरा श्रीमान मार्नेहरु कहाँ पुगे तर आफूहरु भुइको भुई मै छौ।’ उनले दुःख पोखिन्।

राज्यले सहिद मानेका द्वन्दताका ज्यान गुमाउनेहरुका परिवारलाई न्याय र परिपुरणको आवस्यकता छ भन्ने बुझेका वर्तमान ३ तहका राज्य संयन्त्रले खासै चासो दिएका छैनन्। भर्खरै पुर्नगठन भएका सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगले संक्रमणकालिन न्यायलाई टुङ्गोमा पु¥याउन सकेमा द्वन्दपीडितका गुनासा घट्दै जाने छन्।

प्रकाशित: २६ माघ २०७६ ०७:३१ आइतबार

मृत्युदण्ड सशस्त्र_द्वन्द