समाज

बुक–बसमा विद्यार्थीको आकर्षण

धादिङ - विज्ञान–प्रविधिको विकाससँगै संस्कृति विकासले पनि फड्को मारेको छ। संस्कृति विकासका लागि विभिन्न लाइब्रेरी, इ–लाइब्रेरी, कम्प्युटर, मोबाइललगायत डिभाइस तथा एप्सहरू बनेका छन् तर ती सबैको पहुँच ग्रामीण तथा सामुदायिक विद्यालयसम्म छैन। यी सुविधाहरू भएकै ठाउँमा पनि पठनपाठन त्यति सहज छैन। यस्तो पृष्ठभूमिमा विद्यार्थीहरूलाई लक्षित गर्दै धादिङमा बुक–बस अर्थात् मोबाइल पुस्तकालय सञ्चालन गरिएको छ। माघ १५ देखि सञ्चालन गरिएको बुक–बसप्रति विद्यार्थीको आकर्षण बढेको छ।

झट्ट हेर्दा दमकलजस्तो तर नजिकबाट हेर्दा एकदमै नौलो सवारीसाधनजस्तो देखिने बस–पुस्तकालयभित्र विभिन्न पुस्तकहरू सजाएर राखिएका छन्। बुक–बसमा कथा, कविता तथा उपन्यासका नेपाली र अंग्रेजी भाषाका दुई हजारको हाराहारीमा पुस्तक राखिएको बुक–बसकी सञ्चालक निशा कार्कीले बताइन्। ‘हाम्रो मुख्य उद्देश्य भनेको समाजमा अध्ययन संस्कृतिको विकास गर्नु हो, शिक्षा पद्धतिलाई कसरी सुधार गर्न सकिन्छ भनेर कार्यशालाहरू पनि गर्छौैं,’ उनले भनिन्, ‘विशेषगरी सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी बस–लाइब्रेरीको अवधारणा ल्याइएको हो।’

प्रविधि विकास द्रूत भइरहेको बेला पठन संस्कृतिको विकास गर्ने उद्देश्यसहित ल्याइएको यो कार्यक्रम विद्यार्थीको क्षमता अभिवृद्धिका लागि विशेष प्रभावकारी हुने अपेक्षा देखिएको छ। विद्यार्थीले बसभित्र राखिएका पुस्तकहरू झिकेर पढ्ने गरेका छन्।

पुस्तकालयको सुविधा नभएका विद्यालयका विद्यार्थीलाई सिर्जनात्मक शैलीमा पढ्ने अवसर दिन बुक–बस प्रभावकारी भइरहेको छ।

जिल्लाको गजुरी गाउँपालिकाको गजुरी बजारस्थित आर्दश माद्यमिक विद्यालय, सिद्धलेक गाउँपालिकाको आदमटारस्थित सत्यवती माद्यमिक विद्यालय र गल्छी गाउँपालिकाको बैरेनी बजारस्थित बागेश्वरी माद्यमिक विद्यालयमा चार–चार दिन बुक–बस रहनेछ। सत्यवती माविमा भने बस लान बाटो नभएकाले भरियामार्फत पुस्तक स्कुलसम्म पु¥याइने गरिएको छ। बुक–बस विद्यार्थीका अतिरिक्त अभिभावक, शिक्षक र पुस्तकका पारखीहरूका लागि पनि उपयोगी भइरहेको सञ्चालकहरू बताउँछन्।

यसैबीच, फागुन ५ र ६ गते बुक–बसका प्रशिक्षक र विद्यार्थीहरूले गरेका राम्रा कामको आर्दश मावि गजुरीमा प्रदर्शनी गरिने भएको छ। प्रदर्शनीमा विद्यार्थीहरूले रचना गरेका कथा, कविता, गीत र चित्रहरू राखिने कार्कीले बताइन्। ‘पुस्तकालयको सुविधा नभएका विद्यालयका विद्यार्थीलाई सिर्जनात्मक शैलीमा पढ्ने अवसर दिन बुक–बस प्रभावकारी भइरहेको छ,’ उनले भने, ‘यसमा विद्यार्थीहरूले आफूलाई मन परेका पुस्तकहरू रोजेर पढ्न पाउने व्यवस्था छ।’

अमेरिकी दूतावासको सहयोगमा शैक्षिक तथा सांस्कृतिक योजनाहरूको प्रबन्धन सेवा उपलब्ध गराउने संस्था सालोरी सेन्टर फर द आर्टस्ट,अमेरिकन स्पेस कार्यक्रम तथा अन्तर्राष्ट्रिय संस्था पिस कोरसँगको सहकार्यमा बुक–बस सञ्चालनमा ल्याइएको हो। सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी सञ्चालनमा ल्याइएको बुक–बसबाट अन्तरजातीय द्वन्द, शिक्षा, प्रविधि तथा नयाँ कुराहरूको जानकारी लिन सक्नेछन्। बुक–बसमा रहेका अधिकतर पुस्तक विद्यालयमा अध्ययन गर्ने बालबालिका लक्षित छन्। कतिपय १० जोड दुई कक्षासम्मलाई उपयोगी हुने पुस्तक राखिएको छ।

बुक–बसमा किताबहरूमात्र छैनन्। बसभित्र ठूलो एलसिडी मोनिटर पनि राखिएको छ। त्यसमा विद्यार्थीलाई अडियो, भिडियो सामग्रीहरू, डकुमेन्ट्रीहरू पनि देखाउने गरिएको छ। बुक–बसमा धेरैजसो अंग्रेजी पुस्तकहरू राखिएका छन्। कथा, कविता तथा उपन्यासका नेपाली पुस्तक पनि छन्। ‘बुक–बस’ ले विज्ञान, साहित्यसम्बन्धी पुस्तकहरू अध्ययनका लागि उपलब्ध गराउनुका साथै अन्तक्र्रिया पनि गर्ने गरेको छ। धादिङमा बुक–बस दोस्रो पटक सञ्चालन गरिएको हो। सन् २०१३ मा पनि बुक–बस सञ्चालन गरिएको थियो।
...

बुक–बसमा अध्ययन गर्दै विद्यार्थीहरू। तस्बिर ः नागरिक

प्रकाशित: २६ माघ २०७६ ०१:२८ आइतबार

विद्यार्थी पुस्तकालय