समाज

चेतना प्रतिष्ठानद्वारा पाँच जना पुरस्कृत

चेतना संरक्षण प्रतिष्ठानद्वारा पुरस्कृत व्यक्तित्वहरू । तस्बिर : नागरिक

विराटनगर- विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई पुरस्कृत गरेको छ। शनिबार प्रतिष्ठानको १५औं वार्षिकोत्सवको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा साहित्य, संस्कृति, पत्रकारिता, समाजसेवा, कलालगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई पुरस्कृत गरेको हो।  

प्रतिष्ठानले १ लाख रुपैयाँ नगद राशिको ‘धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार’बाट प्रा.डा. टंकप्रसाद न्यौपानेलाई सम्मानित गरेको छ। समाजसेवी हरिभक्त सिटौला र परिवारद्वारा स्थापित सो पुरस्कार भाषा, साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई समर्पण गरिन्छ।

देवेनरा समूहले आफ्ना मातापिताको नाममा स्थापना गरेको ‘बालकिशन–नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कार’ प्रा.डा. जगमान गुरुङलाई प्रदान गरिएको छ। यस्तै ‘ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार’ समाजसेवी काशीनाथ जोशीलाई समर्पण गरिएको छ। समाजसेवी दीनबन्धु गोयलले आफ्ना दाजु ओमप्रकाश गोयलको स्मृतिमा सो पुरस्कार स्थापना गरेका हुन्। समाजसेवी दिनेश सुवेदीले आफ्ना भाइको स्मृतिमा स्थापित ‘नरेश सुवेदी पत्रकारिता चेतना पुरस्कार’ अग्रज पत्रकार मोहन भण्डारीलाई प्रदान गरिएको छ।

त्यस्तै साहित्यकार गंगा सुवेदीद्वारा आफ्ना मातापिताको नाममा स्थापना गरेको ‘भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार’ वरिष्ठ चित्रकार गोपाल श्रेष्ठलाई प्रदान गरिएको छ। चारवटै पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ। कार्यक्रममा चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनेहरूलाई प्रतिष्ठानले हरेक वर्ष पुरस्कृत गर्दै आएको जानकारी दिइन्।

कार्यक्रममा विराटनगर महानगरपालिकाकी कार्यवहाक प्रमुख इन्दिरा कार्की, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, देवेनरासमुहका देवकिशन मुण्दडालगायतले नगद तथा सम्मानपत्र हस्तान्तरण गरेका थिए।
 

प्रकाशित: २५ माघ २०७६ १३:१५ शनिबार

चेतना_प्रतिष्ठान पुरस्कृत