समाज

बडिमालिका-९ फागुन ३ मा छाउगोठ मुक्त घोषणा हुने

वडाले बोलाएको सर्वपक्षिय बैठक । तस्बिर : नागरिक

बाजुरा- बडिमालिका नगरपालिका-९ लाई फागुन ३ मा छाउगोठ मुक्त वडा घोषणा गरिने भएको छ। वडा स्तरीय सरोकारवाला सम्मेलित बैठकबाट फागुन ३ गते औपचारिक कार्यक्रमकाबीच घोषणा गर्ने निर्णय गरिएको वडा अध्यक्ष विनोदकुमार विकले बताएका छन्।

गोठ मुक्त घोषणाका आवश्यक सूचकहरु पूरा गरि महिनावारी हुँदा महिलाहरु घरभित्र बस्न थालेको सन्देशसहित भव्य रुपमा घोषणा गर्न लागिएको अध्यक्ष विकको भनाई छ। घोषणा पूर्व जिल्ला स्तरीय सरोकारवाला निकाय सहभागी टोलीले अवस्था बारे पुनः जानकारी लिने र सोही प्रतिवेदनका आधारमा घोषणा गर्ने निर्णय गरिएको छ।

नगरपालिकाको संरचनामा आएपछिको नौमध्ये दोस्रो वडाका रुपमा ९ नम्बरलाई घोषणा गर्न लागिएको हो। साविक बुढीगंगा यसअघि नै भईसकेका थिए भने बडिमालिका-३ रजालीलाई अघिल्लो वर्षमात्र घोषणा गरिएको हो।

वडाभित्रका सबै गोठहरु भत्काएर महिलाहरु गएको वर्षदेखि नै घरमा बस्न सुरु गरेका छन्। अघिल्लो आर्थिक वर्षमै घोषणा गर्ने भनिएपछि केही प्राविधिक कारणले ढिलाइ भएको वडा सदस्य सुना विकले बताएकी छन्। वडाभित्र पर्ने रतुडा, उखाडी र चौराटामा निर्माण गरिएका गोठ अघिल्लो वर्ष नै भत्काएर घरमा बस्न थालेका छन्। महिलाहरु महिनावारी हुँदा सुरक्षित रुपमा बस्न थालेपछि अभियानको सफल अभ्यासको थालनी स्वरुप वडालाई घोषणा गर्न लागिएको नगर उपप्रमुख कतिा विष्टले बताएका छन्।

विष्टले नगरपालिका भित्रका ७ र ८ मा रहेका गोठहरु भत्काएर नगरलाई नै छिटै गोठ मुक्त गर्ने जानकारी भेलामा गराएकी छन्। नगरपालिकामा अन्य वडामा गोठ नभएको र ७ र ८ मा १६/१६ वटा गोठ भएको प्रहरी प्रतिवेदनले देखाएको छ।

प्रहरीले जिल्लामा संकलन गरिएका ३८९ वटा गोठहरु भत्काईसकेको छ। केही गाउँमा अझै पक्की भवनका नाममा पनि गोठ बनेका र केहीले लुकीछिपी घरको तल्लो तलामा बस्ने गरेको सुनिन आएकोले तत्काल टोली पठाएर सबै भत्काउने प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन्।

मार्तडी बजार क्षेत्रमा पर्ने वडा भएकोले छाउगोठ मुक्त नमुना वडाको सन्देश दिन र सामाजिक कुमान्यताको अन्त्यको अभियानलाई तीव्रता दिन घोषणा गर्न लागिएको हो। वडा कार्यालयले यसअघि नै धामी झाँक्री, महिला तथा धार्मीक क्षेत्रका अगुवासँग पनि छलफल गरिसकेको छ।

गोठ मुक्त वडा घोषणापछि गोठ देखिएमा र महिनावारी अवस्थामा महिलालाई विभेद र हेलाको व्यवहार गरेर अपहेलना नगर्ने र घरबाटै सुरुवात गर्ने गरि सहमति समेत गराईसकिएको छ। तीन दिनभित्र थप अवस्था बारे जानकारी लिन नगर उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य नेतृत्वका समिति बनाईएको वडा सदस्य लालचन्द्र नेपालीले बताएका छन्। समितिले छाउगोठ भए नभएको अवस्थासँगै महिनावारी हुँदा बस्ने गरेको स्थानको समेत जानकारी दिने तयारी गरेको छ।

निर्णय नमान्नेलाई राज्यका सुविधाबाट रोक्ने र कारबाही प्रक्रिया अघि बढाउने नगरपालिकाले निर्णय गरेको छ। सरकारले छाउ कुप्रथा अन्त्यका लागि कडाइ गरेपनि सरोकारवालासँगै प्रहरी, जनप्रतिनिधि सबै सक्रिय भएका छन्।

मुलुकी अपराध संहिता २०७४ ले महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडी वा त्यस्तो अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गरे वा गराएमा अपराध मानेको छ। त्यस्तो कार्य गर्ने व्यक्तिलाई ३ महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था छ।

 

 

प्रकाशित: २४ माघ २०७६ १२:४० शुक्रबार

बडिमालिका छाउगोठ_मुक्त