समाज

स्वास्थ्यचौकीविहीन १२ वडा

काठमाडाैँ - जनप्रतिनिधि आएको  साढे दुई वर्ष बितिसक्दासमेत बैतडीका ८४ मध्ये १२ वडा स्वास्थ्यचौकी विहीन रहेका छन्। ती वडामा आधारभूत स्वास्थ्य सेवा प्रदानका लागि अप्ठ्यारो भएको सम्बन्धित स्थानीय तहले जनाएका छन्।

डिलाशैनी गाउँपालिका–६, दोगडाकेदार गाउँपालिका–२, मेलौली नगरपालिका वडा नं १, ४ र ८ शिवनाथ गाउँपालिका वडा नं १, ३, र ५ सिगास गाउँपालिका वडा नं ४ र ७ तथा सुर्नया गाउँपालिका २ र ८ मा स्वास्थ्यचौकी छैनन्। वडामा स्वास्थ्यचौकी नहुँदा सेवा लिन नागरिकलाई अप्ठ्यारो हुने गरेको सुर्नया गाउँपालिका–८ का वडाध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिए।

 स्वास्थ्यचौकी नभएका वडामा आधारभूत स्वास्थ्य सेवा प्रदानमा असहज भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। यसैबीच स्वास्थ्यचौकी नभएका वडामा चालु आर्थिक वर्षदेखि आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण हुने भएका छन्। भवन निर्माणका लागि सङ्घीय सरकारले सम्बन्धित स्थानीय तहका खातामा रकम पठाएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए। उनले भने, अबको दुई वर्षभित्र सबै वडामा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण भइसक्छन्। रासस

प्रकाशित: २४ माघ २०७६ ०८:१० शुक्रबार

जनप्रतिनिधि स्वास्थ्य_सेवा वडा