समाज

‘दादुरा रुबेला खोप अभियान’को तयारी

वीरगन्जमा आयोजित खोप अभियानसम्बन्धी अन्तक्रिया। तस्बिर : रितेश/नागरिक

वीरगन्ज – राष्ट्रिय स्तरमै सञ्चालनको घोषणा गरिएको ‘दादुरा रुबेला खोप अभियान २०७६’ को तयारी प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्जमा तीव्र पारिएको छ। करिब साढे २ लाख जनसंख्या भएको, एक सय ३२ दशमलव ०७ वर्ग किलोमिटरमा फैलिएकाे, ३२ वटा वडा भएको सो महानगरमा २ सय ५३ खोप केन्द्रमार्फत ३९ हजार बालबालिकालाई फागुन १ देखि सुरु हुने खोप अभियानमा लक्षित गरिएको छ।

वीरगन्ज महानगरपालिकाले बुधबार नगर खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालासँग अन्तक्र्रिया गर्दै दादुरा रुबेला खोप अभियानको तयारी तीव्र रूपमा भइरहेको जनाएको छ। अभियानका दौरान ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिकालाई ती केन्द्रहरूमार्फत खोप लगाइने छ। साँथै ५ वर्षमुनिका सबै बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम पनि रहेको छ।

‘हामीले यसलाई आफ्नो भविष्यसँग जोडेर हेर्नुपर्छ, धेरै मान्छेले खोपको महत्व बुझ्दैनन्, त्यसकारण सबैलाई यसको महत्व बोध गराउँदै हामीले दादुरा रुबेला खोप अभियान सफल पार्नुपर्ने छ,’ अन्तक्रियाको अध्यक्षता गरेका वीरगन्ज महानगरप्रमुख विजयकुमार सरावगीले भने, ‘अग्रसरता भने हामी जिम्मेवार व्यक्तिले लिनुपर्ने हुन्छ, वडाध्यक्षज्यूहरू तथा निर्वाचित सबै जनप्रतिनिधि, शिक्षक, अभिभावक, नागरिक समाज र आमसञ्चार क्षेत्रले यस अभियानलाई सफल पार्न अहं भूमिका खेल्नुपर्ने छ।’ नगरउपप्रमुख शान्ति कार्कीले अभियान सफल बनाउन सबैको सहयोग आवश्यक रहेको भन्दै सामुदायिक स्तरमा यसको प्रचारप्रसार बढीभन्दा बढी गर्न सुझाव दिइन्।

बालरोग विशेषज्ञ आनन्दकुमार झाले आआफ्ना बालबालिकाको भविष्यप्रति जिम्मेवार अभिभावकले खोपको महत्व बुझ्न र अरूलाई समेत बुझाउन जरुरी रहेको बताए। बाल मृत्युको प्रमुख कारणमध्ये दादुरा रुबेला रहने गरेको भनी महानरनगरका जनस्वास्थ्य महाशाखाप्रमुख अरुणकुमार महताले जानकारी दिए। यसको संक्रमणले कुपोषण, निमोनिया, इन्सेफ्लाइटिस र बिकलांगताजस्ता असर देखा पर्ने गरेको उनले सुनाए। यसको संक्रमणले बालबालिकाको रोग प्रतिरोधात्मक शक्ति क्षीण हुने भएकाले विभिन्न खाले संक्रमण हुने गरेको डा. झाले बताए। एउटा संक्रमित बालबालिकाको सम्पर्कमा आउने कुनै पनि बालबालिकाले यदि खोप लिएको छैन भने सर्ने सम्भावना ९० प्रतिशतभन्दा बढी हुने उनले जानकारी दिए। खोप लिएका बालबालिकामा भने यसको संक्रमणको सम्भावना नहुने डा. झाको बुझाइ छ।

महाशाखाप्रमुख महतोका अनुसार यसअघि सन् २०१९ भित्र दादुरा रुबेला उन्मूलन गर्ने लक्ष्य नेपालले लिएको थियो। तर, ३ सय ६६ वटा संक्रमणका घटना प्रकाशमा आएकाले लक्ष्य पूरा भएन। सो लक्ष्य आगामी २०२३ भित्र पूरा गर्ने भनेर नेपालले अन्तर्राष्ट्रिय फोरममा प्रतिबद्धतासमेत जनाएको छ। त्यसकारण पनि यो खोप अभियान अति महत्वपूर्ण रहेको महतोले जनाए। कार्यक्रममा प्रस्तुत तथ्यांकका अनुसार गत वर्ष देखा परेको दादुरा रुबेलाको संक्रमणका घटनामध्ये प्रदेश २ का आठ जिल्लामा मात्र एक सय ५० वटा घटना फेला परेका थिए। पर्सा स्वास्थ्य कार्यालयका खोप कार्यक्रम प्रमुख अनिलकुमार सिंहले विश्व स्वास्थ्य संगठनले दादुरा रुबेलाको खोपलाई सुरक्षित प्रमाणित गरेको बताए।

प्रकाशित: २३ माघ २०७६ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App