समाज

कालीगण्डकी करिडोरमा सुख्खा पहिरो

बलेवा- सुख्खा पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अन्तर्गत मालढुङ्गा–टाकुरी सडकखण्ड अवरुद्ध भएको छ। बागलुङ नगरपालिका–१३ गलुवामा बुधबार बिहान ६ बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङ बजारदेखि दक्षिण जैमिनी र बरेङ गाउँपालिकामा चल्ने सवारीसाधन रोकिएका छन्। वैकल्पिक मार्गबाट सवारी पठाउने तयारी भइरहेको भए पनि बागलुङ–कुश्मिशेरा कृषि सडक कालोपत्रको काम चलिरहेको र मालढुङ्गा–लहरेबर–गिठे–कुश्मीशेरा खण्डमा समेत सडक ढलानको काम भइरहेका सावारीसाधन आवतजावतमा अवरोध भएको हो।

निर्माणाधीन सडकलाई सहज बनाएर सवारी चलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। बिहानदेखि रोकिएका सवारीलाई सहज आवातजावतको व्यवस्था मिलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक दीपक रिजालले बताए।

सुख्खा पहिरो हटाएर करिडोर खुलाउने प्रयाससमेत थालिएको छ। बागलुङ–कुश्मिशेरा सडकखण्डमा कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कर्ण बिल्डर्सले डोजर पठाएर अवरोध हटाउने काम थालेको जनाएको छ। सडक अवरुद्ध हुँदा दक्षिण बागलुङमा चल्ने साना तथा ठूला गरी झण्डै २०० सवारीसाधन प्रभावित भएका छन्।

प्रकाशित: २२ माघ २०७६ ०८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App