समाज

अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा

अछाम- पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान सुरु गरेको हो।

मङ्गलबार बिहानदेखि मृतक वडाध्यक्ष धामीको शव र घटनास्थललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान सुरु गरिएकामा आज बिहान ७ बजेदेखि कुकुर ट्यापिङसहित घटनास्थल र एक–दुई किलोमिटर वरपरको क्षेत्रमा सर्च गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता, प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

घटनास्थलमा काठमाडौँदेखि आएका सिआइबीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमान्डमा तीन र धनगढीबाट एउटा कुकुरसहित प्रहरी निरीक्षक दीपक पातलीको कमान्डमा छ जना प्रहरी परिचालन भएका छन् भने अछाम प्रहरीको सम्पूर्ण संयन्त्र परिचालन भएको प्रवक्ता अवस्थीको भनाइ छ।

यस्तै अछामका प्रजिअ भोजराज श्रेष्ठ र प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले समेत अनुसन्धानको नेतृत्व गरिरहेको बताइएको छ। मृतक वडाध्यक्ष धामीसँगै सोमबार राति ८/९ बजेसम्म सँगै रहेका सात जनालाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको र सोधपुछ भइरहेको अवस्थीको भनाइ छ।

विनायक बजार बन्द
घटनाको निष्पक्ष छानबिनको माग गर्दै आज बिहानदेखि विनायक बजार बन्द गरिएको छ। मृतकका आफन्त र स्थानीयवासीले बिहानदेखि सडकमा चक्काजाम गरेका छन्। विनायक बजारका पसलहरु बन्द छन्। आफन्तहरुले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन्।

पञ्चदेवल बजारमा बिहानदेखि टायर बालिएको छ भने सवारी आवगमन पनि बन्द छ। वडाध्यक्ष धामीको हत्या भएको दुई दिन बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्।

मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेको गैरीगाउँको भैँसीगोठमा वडाध्यक्ष धामी मृतावस्था भेटिएका थिए। ४० वर्षीय धामी शिक्षण पेशाबाट राजीनामा गरेर नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित: २२ माघ २०७६ ०८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App