समाज

८ करोड लिई फरार भएका सहकारी सञ्चालक अझै समातिएनन्

सञ्चालक फरार भएको सहकारीको कार्यालय । तस्बिरः नागरिक

वीरगंज- वीरगन्ज बजारबाट सर्वसाधारण बचतकर्ताका करिब ८ करोड रुपैयाँ लिएर ‘प्राइम बचत तथा ऋण सहकारी संस्था’ फरार भएको झण्डैले वर्ष लाग्न थाल्यो । पैसा लिएर भागेको भन्ने आरोपीहरुलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । प्रहरी र जिल्ला प्रशासन कार्यालयले बेवास्ता गर्दा यस्तो भएको पीडितहरुको भनाई छ । उक्त संस्थाले बचतकर्ताको पैसा मात्र होइन ऋणीहरुले बन्धक राखेको जग्गा समेत हिनामिना गरेको  प्रमाण भेटिएको छ ।

श्रीमानको मृत्युपछि एकल जीवन बिताइ रहेकी वीरगन्ज २ छप्कैकि ५० वर्षे सैनाहा खातुन भिक्षा मागेर बिहान बेलुकाको छाक टार्ने गर्छिन् । ‘बचत गर्नु भइपरी आएको बखत पैसाको लागि समस्यामा परिदैन,’ अभनी गाउँकै खैरुल नेसाले उनलाई प्रेरित गरेपछि सहकारीमा उनले खाता खोलेर दैनिक बचत थालिन् । करिब १३ हजार रुपैयाँ बचत पुगेको उनको पासबुकमा देखिन्छ । वीरगन्ज, छपकैयाकै देवनारायण भडेलका परिवारमा ३ जनाको नाउमा रहेको बचत खातामा डेढ करोड रुपैयाँ जम्माको थियो, सोही सहकारीमा । दुबैको पिडा भने उस्तै उस्तै छ । उनीहरुजस्तै सयौं सर्वसाधारणलाई सहकारीका सञ्चालक अलप हुँदा समस्या छ ।

सहकारीबाट पीडितहरूले प्रहरी प्रशासनले साथ नदिएको दुखसो पोख्ने गरेका छन् । ११ महिना अगाडि २०७५ चैत २० मा सहकारीको लिंकरोडस्थित कार्यालयमा ताल्चा लगाएर अध्यक्ष राजेशकुमार पटेल, कोषाअध्यक्ष रहेकी उनकी श्रीमती रिता पोखरेल तथा अन्य पदाधिकारी र जिम्मेवार कर्मचारीहरु सम्पर्कविहीन भए । उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय पर्सामा २०७५ चैत २८ मा पीडितले संयुक्त उजुरी दिए । लगत्तै उनीहरुले जिल्ला प्रहरी कार्यालय पर्सामा समेत त्यसैगरी जाहेरी दिए । जिल्ला प्रसाशन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट आफूहरुलाई असहयोग भइरहेको पीडितहरुको साझा आरोप छ ।

मुद्दा शाखाको तत्कालीन प्रमुख प्रहरी निरीक्षक असरफअली अन्सारीले ‘अब आश मारी हाल्नुस,’ समेत भनेको उनीहरुले गुनासो गरे । केहीदिन अगाडि जिल्ला प्रहरी कार्यालयमा जादा प्रहरी नायब उपरीक्षक बिरेन्द्रबहादुर शाहीले बुझेर बताउने भनेका थिए । ‘पुरानो केस हो, उहाँहरु मकहाँ आएको बेला मुद्दा फाँटमा जिम्मा लगाई दिएको थिएँ, जिल्ला अदालतमा मुद्दा गइसकेको रहेछ,’ शाहीले नागरिकलाई भने, ‘आरोपी मानिसहरु किन पक्राउ परेनन् भन्ने उहाँहरुको सवाल थियो, मैले मुद्दाको वास्तविक अवस्था र ककसलाई समात्नु पर्ने हो, किन समातिएनन भन्ने जानकारी मुद्दाबाट मागेको छुँ ।’

सो सहकारीमा एक हजार ४ सय सदस्य बचतकर्ताका करिब ८ करोड रुपैयाँ ठगी भएको बताइएको छ । वीरगन्ज ६ भित्रिबाइपास निवासी विन्देश्वरी कुशवाहाले आफूले जम्मा गरेका ३८ हजार रुपैयाँ झिक्न पाहोर चैत २१ मा पुग्दा सहकारीको कार्यालयमा ताल्चा लगाइएको भेटे । दुई दिनपछिको आइतबार पुनःकार्यालयमा जादा ताल्चा खुलेको थिएन । उनको घरमा दैनिक बचत संकलन गर्न पुग्ने बजार प्रतिनिधि ओमप्रकाश रौनियारको मोबाईलमा फोन लगाउँदा, ‘माफ गर्नु होला तपाईले डायल गर्नु भएको मोबाईल स्वीच अफ गरिएको छ,’ कम्प्युटराइज्ड जवाफ फिर्ता आयो । कुशवाहाको मनमा चिसो पस्यो ।

सहकारी संस्थाका सञ्चालक फरार भएको खबर फैलियो । त्यसयता बचतकर्ताले जिल्ला प्रसाशन र प्रहरी कार्यालय बेलाबेलामा धाइरहेका छन् । सञ्चालक समितिका अध्यक्ष पटेल रौतहटको  बृन्दा वन गाउँपालिका, हर्साहा गाउँका हुन् । उनकी श्रीमान पोखरेल काठमाडौ निवासी हुन् । २०६६ साल बैशाख २ मा संस्थाको प्रधान कार्यालयको उद्घाटन भएको थियो । आफ्नै श्रीमतीलाई कोषाध्यक्ष बनाएर पटेल करोडौ रुपैयाँ लिएर फरार भएका हुन् । पटेल वीरगन्ज जेसिका पूर्व अध्यक्ष पनि हुन् । यस प्रकरणमा सहकारी बाहिरका पनि केही ब्यक्तिहरुको संलग्नता हुन सक्ने आशंका गरिएको छ ।

पीडितमध्येका राजदेव महतो अहिरले इनर्वा कित्ता नं. ५०२ को दुई कट्ठा जग्गा प्राइम सहकारीमा राखी २५ लाख रुपैयाँ लिएका थिए । सोही जग्गा सहकारीले राष्ट्रिय सहकारी बैंकमा धरौटी राखी ४५ लाख रुपैयाँ ऋण लिएर फरार भएको कारण अहिले आफूले लिएको ऋण फिर्ता गरेमा पनि करोडौं मूल्यको सो जग्गा फुकुवा नहुने भएपछि चिन्तित छन् । त्यस्तै उमेशकुमार गुप्ताले आफूस“ग २३ लाख रुपैयाँ सो सहकारीले ठगेको आरोप लगाए । बिहान बेलुकी चिया पसल चलाउने र दिउँसो मजदुरी गर्ने खैरूल नेसाले आफूले जम्मा गरेको ५३ हजार रुपैयाँ सहकारीले लिएर फरार भएको बताइन् ।

उक्त प्राइम बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई ठूलो सहकारी संस्थाको श्रेणीमा रहेको स्थानीयतह त्यसको नियमन गर्ने निकाय नभएको वीरगन्ज महानगरपालिकाका अधिकृत रामदयाल यादव बताउँछन् । उक्त संस्थाका सञ्चालक बचतकर्ताको करोडौ रुपैयाँ लिएर फरार भएको सर्वसाधारणको उजुरीपछि उजनीहरुको खोजी भइरहेको जिल्ला प्रसाशन कार्यालय पर्साले जनाएको छ ।

संस्थाका सञ्चालक समितिका पदाधिकारी निरन्तर सम्पर्कविहीन छन् । मोबाईल फोन मात्र ‘स्वीचअफ’ छैन उनीहरुको फेसबुक एकाउन्ट पनि ‘डि–एक्टीभ’ भएकोले यसलाई संगठित अपराधको रुपमा लिइएको छ । अध्यक्ष पटेल यस संस्थाको प्रमुख हर्ताकर्ता थिए । कोषाध्यक्ष रहेकी पटेलकी श्रीमती पोखरेल, संस्थाका वरिष्ठ उपाध्यक्ष भारती गुरुङ्ग, उपाध्यक्ष रामलक्षन तिवारी, महासचिव रुपेशकुमार गुप्ता, सचिव शिक्षा थापा र सदस्य सुमितकुमार शर्माको खोजी भइरहेको प्रहरीले बताउदै आएको छ ।

उक्त सहकारी संस्थामा तरकारी बेच्ने, फलफूल बेच्ने, ठूलामा सामान बेच्ने, दैनिक ज्यालादारी गर्ने, ठेला रिक्सा, इरिक्सा, टेम्पु चलाउने जस्ता श्रम गरेर पैसा आर्जन गर्ने नागरिकले आफ्नो पारिश्रमिकबाट बचत गर्ने गरेका थिए । ति सबै विचल्लीमा परेका छन् । बचतसँगै कयौं पारिवारिक योजना र सपना पनि जोडिएको हुन्छ । प्राइम फरार भएपछि उसका बचतकर्ता छोरीको बिहेदेखि साहुको ऋण चुक्ता गर्नेसम्मका योजाना तुहिएका छन् ।
 

प्रकाशित: २१ माघ २०७६ १३:०६ मंगलबार

फरार सहकारी_सञ्चालक