समाज

काठमाडौैं–पोखरा मोटर र्‍याली हुने

काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा यही माघ २३ गते काठमाडौं–पोखरा मोटर र्‍याली आयोजना हुने भएको छ। भ्रमण वर्षमा मुलुकको आन्तरिक पर्यटन प्रवर्द्धन तथा क्यान्सर रोगबारे जनचेतना फैलाउने उद्देश्यले सातौं अमेजिङ मोटर र्‍याली आयोजना गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

केजीएच फाउन्डेसन र रोटरी क्लब अफ काठमाडौंको सहयोगमा उक्त र्‍याली आयोजना गर्न लागिएको हो। नेपाल पर्यटन बोर्डबाट सुरू हुने र्‍याली साँझ पोखरा पुगेर समापन हुनेछ। र्‍यालीमा ४५ वटा गाडीको सहभागिता रहने र्‍यालीका संयोजक दिवाकर राजकर्णीकारले जानकारी दिए। र्‍यालीमा सहभागी हुन १२ हजार शुल्क लाग्नेछ भने गाडीमा चार जना व्यक्तिभन्दा बढी बस्न पाइने छैन। सहभागीको गाडीमा ‘ट्र्याकिङ डिभाइसु जडान गरी ‘स्पिडु जाँच गरिन्छ। गाडीको ८५ किलोमिटरभन्दा बढी स्पिड भएमा प्रतियोगिताबाट बाहिरिनुपर्ने जनाइएको छ।

र्‍यालीको कार्यक्रम सकेपछि भोलिपल्ट रोटरी क्लबले सराङकोटमा रहेको जनजागृति विद्यालयमा स्वास्थ्य शिविर आयोजना गर्नेछ भने विद्यार्थीलाई झोला तथा स्कुलमा स्टेसनरी वितरणसमेत गर्नेछ। आयोजकका अनुसार र्‍यालीमा सहभागी प्रथम, दोस्रो र तृतीय हुनेलाई उचित पुरस्कार दिइनेछ। प्रथम हुनेलाई कतार एयरले एउटा हवाई टिकट, दोस्रो र तेस्रोलाई बुद्व एयरको माउन्टेन उडानको टिकट दिइनेछ।रासस

प्रकाशित: २१ माघ २०७६ ०२:३५ मंगलबार

काठमाडौैं–पोखरा मोटर_र्‍याली