समाज

दुर्घटनामा आठको मृत्यु

काठमाडाैं – सुनसरी र सर्लाहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी आठजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको रामधुनीमा आइतबार बिहान हायस र बस आपसमा ठोक्किँदा पाँचजनाको मृत्यु भएको हो भने १२ जना घाइते भएका हुन्। त्यस्तै सर्लाहीमा शनिबार राति भएका दुई दुर्घटनामा तीनजनाको मृत्यु भएको हो।

रामधुनीमा भएको दुर्घटनाका सबै मृतक हायसमा सवार यात्रु हुन्। बिहान साढे ७ बजेतिर रामधुनी–२ मा चन्द्रगढीबाट काठमाडौं जाँदै गरेको ना५ख ३१५७ नम्बरको हायस र पोखराबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना६ख ७९५ नम्बरको बस आपसमा ठोक्किएका थिए। उक्त दुर्घटनामा परी घटनास्थलमै मृत्यु हुनेमा धादिङ बैरेनी घर भएका २८ वर्षीय दीपक खड्का, झापा भद्रपुर घर भई काठमाडौं–२३ बस्ने ७५ वर्षीय हेमराज कोइराला र ६५ वर्षीया डोलमाया कोइराला रहेको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा परी भक्तपुर बस्ने १७ वर्षीया गरिमा गौतम र झापा भद्रपुर–१० का ४५ वर्षीय टंकप्रसाद काफ्लेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा उपचारका क्रममा मृत्यु भएको हो।उक्त दुर्घटनामा परी घाइते हुनेमा१० जना हायसका र तीनजना बसका यात्रु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ट्राफिक प्रहरीका अनुसार घाइतेमध्ये झापा धरमपुर–९ का ३७ वर्षीय होमबहादुर कार्की र झापाकै ३५ वर्षीया सावित्रा राईको अवस्था गम्भीर छ। कार्कीको बिपी धरान र राईको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

दुर्घटनामा परी घाइते हुने बाकी १० जनामा हायसमा सवार झापा दमक–३ कै ३० वर्षीय बमबहादुर बस्नेत, भद्रपुरका १२ वर्षीय विन्यास काफ्ले, मोरङ पथरी–३ का ४९ वर्षीय डिल्लीराम सापकोटा, भद्रपुर–१० की ४१ वर्षीया ताराकुमारी राय र ३८ वर्षीया माया काफ्ले छन्। त्यस्तै झापा कचनकवल–२ का २५ वर्षीय श्रीकृष्ण चौहान, काठमाडौं अनामनगरका सुधीर श्रेष्ठकी सात वर्षीया छोरी अग्रता र सोही ठाउँकी २८ वर्षीया रमुना श्रष्ेठ पनि घाइते भएका छन्। घाइते हुने अन्यमा बसमा सवार हेटौंडाका ३८ वर्षीय वेदनाथ घिमिरे, मोरङ लेटाङ–२ का ३७ वर्षीय खगेन्द्र नेपाल, झापा कमल–२ का २६ वर्षीय राजकुमार शर्मा छन्। घाइतेहरूको धरान बिपीसहित विराटनगरको गोल्डेन र इटहरीको एपेक्स हस्पिटलमा उपचार भइरहेको छ। ‘बिहानको समयमा दुवै सवारीसाधन तीव्र गतिमा रहेको र हायसले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको पाइयो,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले भने।

त्यसैगरी सलाहीको गोडैता नगरपालिका–७ मोहन चोकमा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार सर्लाही मलंगवा–२ निवासी २० वर्षीय उपेन्द्र सोनार र २० वर्षीय राजेन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। बरहथवास्थित लौकठ हीरापुरबाट सदरमुकाम मलंगवातर्फ आइरहेको बिआर३०एच ६७९८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चारचक्के सवारीसाधनले ठक्कर दिएको थियो। मोटरसाइकल चलाइरहेका सोनारको घटनास्थलमै तथा यादवको सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा उपचार गर्दागर्दै आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिएर फरार रहेको सवारीसाधनको खोजी भइरहेको प्रहरीको भनाइ छ।

यस्तै लालबन्दी–१६ परवानीपुरमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक स्थानीय वृद्धाको मृत्यु भएको छ। रानीगन्जबाट परवानीपुरतर्फ गइरहेको ना१९प २१६० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७० वर्षीया जोककुमारी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २० माघ २०७६ ०१:२४ सोमबार

दुर्घटना मृत्यु