समाज

विद्यार्थीलाई स्टेसनरी र ट्र्याक–सुट

काठमाडौं– लायन्स क्लब अफ काठमाडौं सुनाखरीको आयोजनामा कागेश्वरी मनोहरा नगरपालिका, गोठाटारस्थित बाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी, झोला तथा ट्र्याक–सुट वितरण गरियो । सो विद्यालयमा अध्ययनरत दुई सय पाँच जना विद्यार्थीलाई कागेश्वरी मनोहरा नगरप्रमुख कृष्णहरि थापालगायत अतिथिले शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

नगरपालिका, लायन्स क्लब, सहकारी तथा स्थानीयसँग सहयोग जुटाएर विपन्न बालबालिका पढ्ने सो विद्यालयका विद्यार्थीलाई सहयोग गरिएको यस कार्यका नेतृत्वकर्ता विदुर ढुंगानाले बताए । त्यस अवसरमा नगरप्रमुख थापाले नगरका १६ वटा सामुदायिक विद्यालयमा पाँच कक्षासम्मका विद्यार्थीलाई खाजाको व्यवस्था गरिएको, उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहनस्वरूप नगद उपलब्ध गराइएको, विद्यालयले आवश्यकताअनुसार खर्च गर्न पाउने गरी बजेट उपलब्ध गराइएको जानकारी दिए । सो कार्यक्रमलाई पनि नगरपालिकाले दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।

यसअघि कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीस्थित आनन्द भैरव माविका विद्यार्थीलाई यसैगरी शैक्षिक सामग्री उपलब्ध गराइएको जानकारी दिँदै ढुंगानाले भने, ‘विपन्न विद्यार्थीलाई सहयोग गर्ने यो सिलसिला आगामी दिनमा पनि जारी रहनेछ ।’ यही क्रममा विभिन्न दाताबाट प्राप्त सहयोगमध्ये ५० हजार रुपैयाँ क्यान्सरपीडित गोठाटारकै विष्णुबहादुर सिलवालको उपचारार्थ प्रदान गरिएको थियो ।

 

 

प्रकाशित: १९ माघ २०७६ ०३:३२ आइतबार

विद्यार्थी स्टेसनरी