समाज

होटलबाट ब्राउन सुगरसहित २ पक्राउ

भैरहवा - रुपन्देही प्रहरीले लागुऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ। कार्यालयबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया बसपार्कस्थित तनहु होटलबाट ब्राउन सुगर(खैरो हेरोईन) र प्रतिबन्धित औषधिसहित २ जनालाई नियन्त्रणमा लिएको हो।

सिद्धार्थनगर वडा नम्बर १ मेउडीहवा बस्ने ३१ बर्षकी रेनु बनिया र तिलोत्तमा नगरपालिका वडा नम्बर २ बस्ने ३१ वर्षकै बिष्णु गाहा मगरलाई होटलबाट प्रहरीले नियन्त्रणमा लिइएको हो। दुबैजनालाई बुधबार सीमा क्षेत्र वेलहियास्थित होटलको १३६ नम्बरको कोठाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देही  प्रबक्ता तथा प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए।

उनिहरुबाट ओनेरेक्स (१०० एमएल) ६३ सिसि, फेन्सिडिल १०० एमएलको ८ सिसि, स्पास्मो प्रोक्सीभन क्याप्सुल ४३६ वटा, निट्राभेट ट्याबलेट १८० वटा एलजेडजेड ६०० एमएल दुई बोतल, १ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर, डाइजेपाम, फेनरागन १ एम्पुल, नुफिन १ एम्पुल औषधी बरामद भएको थियो।

सबै औषधिहरु नेपालमा बिक्री बितरणमा प्रतिबन्धित रहेको छ। त्यसै गरी उनिहरुको साथबाट बिभिन्न कम्पनिको ९ थान मोबाइल सेट समेत बरामद भएको प्रहरीले जनाएको छ। उनिहरुलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ माघ २०७६ ०६:२७ शनिबार

ब्राउन_सुगर पक्राउ