समाज

किर्ते बैंक ग्यारेन्टी पेस गर्ने ठेकेदार थुनामा

रौतहट – रौतहटको गढीमाई नगरपालिकामा वाग्मती नदीको समनपुर घाटको बालुवा–गिट्टी ठेक्का हत्याउनको लागि नक्कली बैंक ग्यारेन्टी बनाएर पेस गरेको आरोपमा भाग्यमानी कन्स्ट्रक्सनका सञ्चालक रामानन्द साहलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। गिट्टी–बालुवा ठेक्का सकार तथा आधा रकम जम्मा गरी नगरपालिकाको केही कर्मचारीको मिलोमतोमा सञ्चालक साहले एक करोड साठी लाख रुपैयाँ बराबरको नक्कली बंैक ग्यारेन्टी पेस गरेपछि इलाका प्रहरी कार्यालय गरुडाले सञ्चालक साहलाई एक महिनाअघि पक्राउ गरेको थियो।

ठेक्का हात पार्न सञ्चालक साहले पेस गरेको बैंक ग्यारेन्टीमा शंका लागी नगरपालिकाका लेखापाल कामेश्वर सहनीले राष्ट्रिय वाणिज्य बैंकमा फोन गर्दा सो बैंक ग्यारेन्टी–पत्र नक्कली भएको खुलेको थियो। त्यसपछि लेखपाल सहनीले भाग्यमानीका सञ्चालकसहित नक्कली बैंक ग्यारेन्टी प्रकरणमा संलग्न व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोको कामन्डमा खटिएको टोलीले भाग्यमानीका सञ्चालक रामानन्दलाई नियन्त्रणमा लिएको थियो।

प्रहरी टोलीले साहको गौर–३ स्थित घर खानतलासी गर्दा राष्ट्रिय वाणिज्य बैंक गौर शाखाको किर्ते गरेर बनाएका अन्य नक्कली कागजात, नेटरी पब्लिकको छाप र हस्ताक्षर किर्ते गरेको प्रमाण फेला पारेको थियो। प्रमाण बरामद गरेपछि प्रहरीले साहविरुद्ध लिखित किर्ते र नोटरी पब्लिक ऐनअन्तर्गतको कसुरमा मुद्दा चलाएको थियो। सो मुद्दामा रौतहट जिल्ला अदालतका न्यायाधिश चाणक्यमणि अर्यालको इजलासले आरोपित साहसहित फरार रहेका पाँच जना व्यक्तिहरूले लिखित किर्ते कसुर गरेको भन्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

किर्ते कागजातको आधारमा नक्कली बैंक ग्यारेन्टी बनाउनमा संलग्न रहेका राधेश्याम साह, प्रमोदकुमार यादव, सुरेन्द्र राय भन्ने सुरेन्द्रप्रसाद यादव र अमिन मिया फरार रहेका छन्। मुलुकी फौजदारी संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा राखी पुर्पक्ष गर्ने आदेश दिनुका साथै फरार भएका प्रतिपवादीहरूलाई तत्काल नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउन आदेश भएको जिल्ला अदालत गौरका तहसिलदार सुरथनाथ तिमल्सिनाले बताए।

रौतहटको गढीमाई नगरपालिकाले वाग्मती नदीबाट खोला पैदावर वस्तु निकासीका लागि बोलपत्र आह्वान गर्दा उक्त कन्स्ट्रक्सनले तीन करोड २५ लाखमा गत भदौ २१ मा ठेक्का सकार गरेर रकम नै जम्मा नगरी, कर्मचारीसँगको मिलोमतोमा असोज १ देखि वाग्मती नदीबाट खोला पवैदावर वस्तुको निकासी गर्दै आएको थियो। भाग्यमानीका सञ्चालकले ठेक्का पाएको करिब पाँच महिनासम्म रकम जम्मा नगरी अवैधानिक तरिकाले बालुवा–गिट्टी र ग्राभेल निर्वाध रूपमा उत्खनन गर्न थालेपछि स्थानीय विरोधमा उत्रिएका थिए। स्थानीय विरोधमा उत्रिएपछि अख्तिायारमा फस्ने डरले तत्काल रकम जम्मा गर्न नगरपालिकाले भाग्यमानीका सञ्चालकलाई दबाब दिएका थिए।

सो कन्स्ट्रक्सनले सुरुमै ८५ लाख नगद नगरपालिकामा जम्मा गरेर अस्थायी ठेक्का लिएर खोला पैदावर वस्तुहरूको निकासी सुरु गरेको थियो। त्यसपछि नगरपालिकाबाट सम्पूर्ण रकम जम्मा गर्न पटकपटक ताकेता गर्दा कन्स्ट्रक्सनले पुस ९ गते थप ५० लाख रुपैयाँमात्र जम्मा गरेको थियो। गढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरका अनुसार नगरपालिकाबाट पूरै रकम जम्मा गर्न पत्राचार गर्दा प्रोपराइटर साहले एक करोड ६० लाख बराबरको नक्कली प्रोफेसमेन्ट बोन्ड–पेपर नगरपालिकामा बुझाएर स्थायी अनुमति दिन दबाब दिएका थिए।

प्रकाशित: १८ माघ २०७६ ०१:४७ शनिबार

नक्कली_बैंक_ग्यारेन्टी ठेकेदार थुना