समाज

मौसममा फेरि बदली, अपरान्ह पश्चात वर्षाको सम्भावना

काठमाडाैं  - केही दिन सुधार आएको मौसममा फेरि बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशको मध्य तथा पूर्वी पहाडी भू-भागमा आशिंकदेखि सामान्य बदली भएको छ भने मध्य तथा पुर्वी तराई भू-भागमा हुस्सुरकुहिरो लागिरहेको छ। पश्चिमी भू-भागको थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको छ।

महाशाखाकाअनुसार पूर्वी तथा मध्य पहाडी भू-भागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का वर्षाको सम्भावना रहेको छ।  तर राति भने सामन्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। तर शनिबार दिउँसो भने देशको पहाडी भुभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १७ गते (आज)

दिउँसोः देशको पूर्वी भू-भाग लगायत मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पुर्वी तथा मध्य पहाडी भू-भागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का बर्षाको सम्भावना रहेको छ।  

रातिः  देशको पहाडी भू-भागमा आंसिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १८ गते (शनिबार)

दिउँसोः देशभर आशिंकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भुभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

रातिः उच्च पहाडी तथा हिमाली भू(भागमा आंसिकदेखि सामान्य बदली रहि हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १९ गते (आइतबार)

दिउँसोः पुर्वी तथा मध्य पहाडी भू-भागमा आंसिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशभर मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: १७ माघ २०७६ ०२:०३ शुक्रबार

मौसम वर्षा