समाज

सिद्धलेकमा दुईजना मृत फेला

धादिङ – धादिङको सिद्धलेक गाउँपालिका–१ कालिदहनजिकैको भीरमा स्थानीय दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन्। वडा कार्यालय जान भनेर आइतबार घरबाट निस्किएका सिद्धलेक गाउँपालिका–१ का ३८ वर्षीय भीमबहादुर गुरुङ र ५७ वर्षीय नकुल सापकोटा आइतबार अपरान्हदेखि परिवारको सम्पर्कमा थिएनन्।

बाटोछेउको भीरमा शव फेला परेकाले उनीहरू दुवैजना भीरबाट खसेर मृत्यु भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्। खोजीका क्रममा सोमबार साँझ उनीहरूको शव कालिदहनजिकैको भीरमा भेटिएको थियो। शव फेला पर्नेबित्तिकै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शव फेला परेको जानकारी पाउनेबित्तिकै प्रहरीले जाँच मुचुल्का गरी पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल धादिङबेंसी ल्याएको छ। मृतकका परिवारको तर्फबाट जिल्ला प्रहरी कार्यालयमा जाहेरी आइसकेको र घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी रूपक खड्काले जानकारी दिए। उनीहरूको साथबाट स्थानीय सहकारीको सेयर सदस्य परिचय पत्र र नगद २० हजार रुपैयाँ पनि फेला परेको धादिङ प्रहरीले जनाएको छ।

प्रकाशित: १५ माघ २०७६ ०३:१३ बुधबार

सिद्धलेक मृत_फेला