समाज

नाग्मगमडी सडकमा प्रहरी चौकी

प्रहरीचौकी उद्घाटनपछि लिइएको सामूहिक तस्बिर: नागरिक

जुम्ला - कर्णालीको प्रमुख पर्यटकीय स्थल रारा पुग्नको लागि आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकको शान्ति सुरक्षालाई मध्येनजर गर्दै  नाग्मगमगडी सडकको बड्कीमा नयाँ प्रहरीचौकी स्थापना गरिएको छ। यसअघि हिमा गाउँपालिकाको बुअ, सिँजाको नराकोट र कनकासुन्दरीको गोठीजीउला र चौथामा प्रहरीचौकी राखिएको थियो।

अहिले त्यो सडक खण्डमा बड्की प्रहरीचौकी थपिएको हो। गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले सरकारले शान्ति सुरक्षा र अपराध नियन्त्रण क मगर्न नयाँ प्रहरीचौकी स्थापना गरिएको बताए। उनले भने,‘ रारा घुम्नको लागि आउजाउ गर्ने मुख्य सडक भएकोले पर्यटकको शान्तिसुरक्षा प्रमुख बिषय हो। जसका कारण प्रहरीचौकी स्थापना हुन पुग्यो।’

  चौकी स्थापनाले स्थानीयमा खुसी छाएको छ। हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाही, उपाध्यक्ष हिमाली रोकाया, गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले संयूक्त रुपमा प्रहरी चौकीको उद्घाटन गरे। राजमार्ग क्षेत्रको अपराध अनुसन्धानमा सजिलो गर्न, शान्ति सुरक्षा मजवुद्ध गर्ने उद्देश्यले प्रहरी चौकी चाडै स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे बताउँछिन्।

स्थानीबासीन्दाको माग र   आवश्यकताको आधारमा मन्त्री परिषदको बैठकले राजमार्ग क्षेत्रमा प्रहरी चौकी राख्ने निर्णय गरेअनुसार अहिले उपलब्ध जनशक्ति खटाई प्रहरी चौकी स्थापना गरिएको गृह मन्त्रालयका सहप्रबक्ता अधिकारीले जानकारी दिए । अपराध नियन्त्रण गर्न तथा शान्ति सुरक्षा मजवुद्ध गर्न र पर्यटकलाइ शान्ति सुरक्षाको अनुभुति गराउन भरपुर अनुभुति दिलाउने विश्वास व्यक्त गरे।


यो संगै जुम्लाको तातोपानी गाउँपालिकाको लिताकोट र गुठिचौर गाउँपालिकामा चौकी स्थापना गर्ने अनुमति गृहमन्त्रालयले दिएको छ।  नाग्म गमगडी राजमार्गमा राराजाने पर्यटकहरु हरेक बर्ष बढ्दै जाने गरेकाले समेत सुरक्षाको हिसावले सजिलो हुने भएकोछ। यसैगरी बड्की गाउँमा कर्णाली प्रदेश सरकारले होमस्टेको शुरुवात गरेको छ। यसैले पनि पर्यटकहरुका लागि पनि शान्ति सुरक्षामा सघाउ पुग्नेछ। यसका साथै पर्यटकहरुको तथ्यांक समेत लिन सकिनेछ।  प्रहरीचौकीले कर्णालीको रारामा आउने पर्यटकको तथ्यांक संकलन गर्नेछ।

स्थानीयबासिन्दाले निशुल्क जग्गा दिएपछि चौकी स्थापना गर्न सजिलो भएको स्थानीय दिपबहादुर शाही बताउँछन्।  नाग्म गमगडी राजमार्गको शुरुवातको विन्दु हिमा गाउँपालिका र सिञ्जा गाउँपालिकाको बीचमा पर्न सक्ने विभिन्न प्रकोपका घटनाहरु, अपराधहरु, झगडाहरुको निर्मुल पार्न सजिलो हुने उनले बताए। हिमा गाउँपालिका १ बड्की कालिकोट जाने नाका पनि कालिकोटको पलाता गाउँपालिका सँग जोडिएको भूगोल भएकाले पनि शान्ति सुरक्षामा सजिलो हुने भएको छ।

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले प्रहरी चौकीले स्थानीय सरकारका काम र समृद्धिमा समेत सहयोग गर्ने अपेक्षा गरिएको जानकारी दिए।  प्रहरी चौकीमा एक असइ सहित ६ जनाको प्रहरी टोली बस्ने भएको छ। प्रहरीचौकी स्थापनाले गाउँमा खुसीयाली छाएको स्थानीय बताउँछन्। अहिले यो राजमार्ग हुदै सयौँ पर्यटकका सवारी आवातजावत गर्छन्। तर कहिले सडक बिग्रने,हिलाम्मे हुने र पहिरो जाने समस्या आउने गरिरहेको छ। अब प्रहरी चौकीले सडक बिग्रेभत्केको पहिले नै जानकारी दिनेछ।

प्रकाशित: १४ माघ २०७६ ०५:२१ मंगलबार

प्रहरी_चौकी रारा कर्णाली