समाज

'हात नमिलाऔ अभियान' को घोषणा

काठमाडौं- स्वास्थ्य सरसफाई क्षेत्रमा नयाँ अभियानको थालनीका लागि 'हात नमिलाऔं अभियान' को घोषणा गरिएको छ। हामी हाम्रो लागी(उई फर अस) नामक सामाजिक संस्थाले उक्त घोषणा गरेको हो। शनिबार काठमाडौंमा छलफल तथा स्वास्थ्य सरसफाई क्षेत्रमा नयाँ अभियान घोषणा कार्यक्रमकाे आयोजना गर्दै 'हात नमिलाउ अभियान'का संयोजक तथा यस सँंस्थाका सह-संयोजक नारायण प्रसाद शर्माले उक्त अभियानको घोषणा गरेका हुन्।

यस्तै, कार्यक्रमका सभापति तथा यस संस्थाका संयोजक कुशल सरोकारले 'हामी हाम्रो लागि' एउटा विशुद्ध सामाजिक संस्था भएको बताएका थिए। उनले कार्यक्रमको औचित्य उद्देश्य तथा महत्व बारे प्रकाश पार्दै यस संस्थाले युवा र देशका लागि नौलो कामको सुरुवात गरि सरसफाई क्षेत्रमा कामहरु गर्दै जाने बताएका थिए।

यस्तै, संस्थाका महासचिव दान सिंह धामीले आफूले जापानमा बस्दा भोगेका भोगाईहरु उपस्थित युवाहरुमाझ साटेका थिए। उनले विदेशमा भन्दा स्वदेशमै बसेर स्वदेशकै लागि काम गर्नै मनशायले विदेशको बसाई छाडेर आएको बताएका थिए।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका वैज्ञानिक तथा योजनाविद् ईन्जिनियर यज्ञराज अधिकारीले कार्यक्रम तथा अभियान अगाडी बढाउने सुत्रहरु दिएका थिए।

कार्यक्रममा सामाजिक अभियान्ता सरु बास्तोला, शिक्षासेवी सुन्दर खड्का, समाजसेवी दिपक बास्तोला, पत्रकार तथा सञ्चारकर्मी भरत लामिछाने, पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष हिमाल ढुँगेललगाएतको उपस्थिती रहेको थियो।

उक्त कार्यक्रममा नयाँ अभियानको थालनीसँगै कार्यक्रम उद्घाटन फूलको गमलामा पानी हालेर गरिएको आयोजकले जनाएको छ।  

प्रकाशित: १३ माघ २०७६ १४:०५ सोमबार

हात_नमिलाऔ_अभियान