समाज

चिकित्सक टोली हुम्लामा

जुम्ला- पछिल्ला तीन सातादेखि फैलिएको हुम्लाको चंखेली, सर्केघाट र खार्पुनाथ गाउँपालिकामा मौसमी फ्लुको प्रकोप नियन्त्रणमा नआएपछि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट चिकित्सकको एक टोली हुम्ला पुगेको छ। उदय बिसीको नेतृत्वमा दुई जना चिकित्सक, एक जना स्वास्थ्यकर्मी र एक कर्मचारी हुम्ला पुगेका हुन्।

टोली नेतृत्वकर्ता बिसीले गाउँमा फैलिएको प्रकोपका विषयमा जानकारी लिने कार्य भइरहेको छ। यो टोली गाउँतिर जाने तयारी गरिरहेको छ, उनले भने, ‘छिट्टै गाउँमा गएर औषधि उपचार गर्ने कार्य सुरु गर्ने छ।’

टोलीलाई हिमाली क्षेत्रको अनुभव नभएकोले समस्या भइरहेको छ। उनले थपे, ‘जताततै हिउँ मात्र छ।’ हुम्लामा फैलिएको प्रकोपलाई मध्येनजर गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पनि दुई जना चिकित्सक खटाएको छ। सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर जुम्लादेखि एक महिनाको लागि दुई जनाको चिकित्सक टोली खटाइएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए।

कर्णाली प्रदेश स्वास्थ्य महाशाखाको टोली पनि गाडीबाट हिडेको छ। अहिले हुम्लाको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै कर्णाली प्रदेश सरकारले ध्यान केन्द्रीत गरेको जनाएको छ। हुम्लाका चिकित्सक टोलीसँगै औषधि पुगिसकेको छ। औषधि अभाव हुँदा मौसमी फ्लु नियन्त्रण बाहिर गएको स्थानीय बताउँछन्। तीन सातामा ७ जनाको मृत्यु भइसकेको छ। स्थानीय स्वास्थ्य संस्थामा प्रायप्त औषधि र दक्ष जनशक्ति नहुँदा प्रकोप झनै फैलिएको हो।

लामो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको टोलीले हुम्लामै चिकित्क खटाएर उपचार सेवा दिइएको थियो।
 
   

 

प्रकाशित: १३ माघ २०७६ १३:२५ सोमबार

चिकित्सक टोली