भक्तपुर- भक्तपुरका परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग लोप हुने क्रममा पुगेका छन्। कुनैबेला जिल्लाका मानन्धर समुदायको घरघरमा देखिने सयौं तोरीको तेल उत्पादन गर्ने उद्योग अहिले प्रायः लोप भइसकेका छन्।
भक्तपुरमा कुनै समय थर अनुसारको पेशा व्यवसाय हुन्थ्यो। अवाल थर भएकाले घर बनाउने डकर्मी, शिल्पकार थर भएकाले झ्यालढोका बनाउने काठको सिकर्मी, धौबञ्जार थर भएकाले दही बनाउने आदि काम गर्थे। यसरी नै मानन्धर थर भएका भक्तपुरेहरुको मुख्य पेशा व्यवसाय तोरीको तेल उत्पादन गर्ने हुन्थ्यो। यही हिसावले यहाँंका मानन्धर थर भएका परिवारहरुको घरघरमा कुनै बेला तोरीको तेल उत्पादन गर्ने उद्योग हुन्थ्यो। तर अहिले त्यो खोज्नुपर्ने अवस्था आएको छ।
भक्तपुर जिल्ला मानन्धर युवा संघका अध्यक्ष न्हुछेरत्न मानन्धरले अहिले आफ्नो समुदायमा तोरीको तेल उद्योग सञ्चालन गर्ने परिवार नै छैन भन्दा पनि हुने जनाए। उनका अनुसार तोरीको तोरी तेल उत्पादन गर्ने मानन्धर परिवार अहिले मुस्किलले पाँंच वटा मात्रै बाँंकी छन्। ती पनि जेनतेन चलिरहेका छन् र कहिलेबाट बन्द हुन्छ भन्नै नसकिने अवस्था छ।
तथ्यांक अनुसार भक्तपुरमा करिब तीन हजार पाँच सय मानन्धर समुदायको बसोबास रहेको छ। तर पनि पाँच घरपरिवारले मात्र मुस्किलले तोरीको तेल उत्पादन गर्दै आएका छन्। ती पनि प्राविधिक कारणले बन्द हुने अवस्थामा छन्। त्यसैले मौलिक पेशा संकटमा परेसँगै मानन्धर समुदायले तोरीको तेल उत्पादन गर्ने उद्योग पुनः सञ्चालनको आवश्यकता भएको उनीहरु बताउँंछन्।
भक्तपुर चेम्वर अफ कर्मशका अध्यक्षसमेत रहेका उनले चेम्बरको उद्देश्यसँग मानन्धरहरुको परम्परागत पेशालाई जोडेर उद्योग सञ्चालनको पहल भक्तपुरबाटै गर्नुपर्ने बताए। उनले गुणस्तरीय उत्पादनमा ध्यान दिन सके समुदायको संयुक्त लगानीमा तयार हुने तोरीको तेललाई अन्तराष्ट्रिय बजारमासम्म पुर्याउन सकिने सम्भावना पोखे।
भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धर मानन्धर समुदायको पुरानो पेशालाई जिवित बनाइराख्नुपर्ने आवश्यकता औंल्याउँंछन्। त्यसका लागि समुदायभित्रको पुँजीलाई एकीकृत रुपमा परिचालन गर्नुपर्ने आवश्यकता उनी औंल्याउँछन्।
मानन्धर समुदायभित्रको यो पेशालाई जिवन्त बनाउने विषयमा बहससमेत सुरु गरिसकेको उनले बताए। पछिल्लो समय विस्थापित हुँदै गएको मौलिक सामाग्री उत्पादन गर्ने उद्योग रुग्ण बनेको प्रति चासो व्यक्त गर्दै उनले मानन्धर समुदायले उद्योग सञ्चालनको बहस सुरु हुनु आफैमा सकारात्मक भएको पनि टिप्पनी गरे।
प्रकाशित: १३ माघ २०७६ १३:१५ सोमबार