समाज

विद्यालयमा हाजिरी कार्ड, कक्षा कोठा मै पुगेर अनुगमन

कक्षा कोठामै पुगेर विद्यार्थीसँग छलफल गर्दै प्रमुख प्रशासकीय अधिकृत । तस्बिर: नागरिक

बाजुरा- जगन्नाथ गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि नयाँ अभ्यासको थालनी गरेको छ। विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर गाउँपालिका स्तरबाटै छड्ने अनुगमन र विद्यालयमा विद्यार्थी हाजिरी कार्डको सुरुवात गरेको हो।

विद्यालय आएकाहरु पनि बीचमै घर जाने, अधिकांश नियमित विद्यालय नआउने र शिक्षकले पनि प्रभावकारी शिक्षण सिकाइमा ध्यान नदिने जनगुनासो बढे पछि गाउँपालिकाबाटै अनुगमन र अध्ययन टोली खटाउने गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले बताएका छन्।

विद्यालय व्यवस्थापन समितिकै भरमा मात्र पर्दा गुणात्मक सुधारको संकेत देखिएन, गाउँपालिकाबाटै त्यसको निगरानी र सरोकार राख्ने थालिएको अधिकृत गैरेको भनाई छ। गैर स्वयम् आफै छड्ने अनुगमनका लागि विद्यालय पुग्ने, पाठ्यक्रम बारे विद्यार्थीलाई सोध्ने र शिक्षकसँग कक्षा कोठामै गएर छलफल गर्ने गरेका छन्।

लगानी जस्तो प्रतिफल शिक्षामा नदेखिनुले कमजोरीको खोजी गर्न नै नियमित छड्ने अनुगमनको अभ्यास थालिएको गाउँपालिकाले बताएको छ। हातमा पाठ्य पुस्तक, खेल सामाग्री, गरिवि विपन्नका लागि शैक्षिक सामाग्रीसहित जनप्रतिनिधि र कर्मचारी विद्यालय पुग्ने गरेका छन्।

शिक्षण सिप, शिक्षण कला र विद्यार्थीको लगानशिलता र अभिभावकको निगरानी पहिलो विषय हो, यी कुरा सुधार्नका लागि नीतिगत रुपमा गाउँपालिकाले हाजिरी कार्ड र कक्षा कोठामै गएर प्रत्यक्ष अनुगमन गर्न सुरु गरिएको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन्।

भौतिक संरचनाको अवस्था, शिक्षक, विद्यार्थीबीचको सहकार्य, अभिभावकको जिम्मेवारी सबैको जाँच अनुगमनका क्रममा गरिने र त्यसैका आधारमा विद्यालयलाई सहयोग गर्ने गाउँपालिकाले बताएको छ। कुनै पनि बालबालिका विद्यालयबाट बाहिर नहुन र गाउँपालिका स्तरको लगानी नभएर शैक्षिक गुणस्तर खस्कीयो भन्ने गुनासो नसुन्ने गरि लागि परेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए।

विद्यालयमा हाजिरी कार्डसहित राख्ने व्यवस्था गरिएको छ। विद्यालयले विहान नियमित कार्ड बोकेर आउने र बेलुका विद्यालय विदापछि कार्ड आफैले लिएर आउने गरिएको छ। बीचमा भाग्नेलाई र नियमित नआउने विद्यार्थीलाई रातोको संकेतबाट आवश्यक कारबाही गर्ने गरिएको सरस्वती माविका प्रअ पवनकुमार रोकायाले बताएका छन्।

गाउँपालिकामा सुरुवात स्वरुप सरस्वती माविबाटै हाजिरी कार्डको अभ्यास गरिएको छ। हाफटाइम पछि भागेर जाने, कक्षा सञ्चालनको बीचमा पनि विद्यालय भित्र आउने, नियमित नआउने जस्ता समस्या बढेलगत्तै हाजिरी कार्ड सुरु गरिएको हो, प्रअ रोकायाले भने।

गाउँपालिकाले सबै विद्यालयमा राख्ने र विद्यार्थीलाई पनि नियमित आए नआएको आधारमा गाउँपालिकाले दिने सुविधामा थपघट गर्ने तयारी गरेको उपाध्यक्ष ऐना गिरीले बताएकी छन्।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत नै कक्षा कोठामा पुगेर सोधपुछ गर्न थाले पछि अभिभावक पनि सक्रिय देखिएका छन्। भने शिक्षक पनि चनाखो बनेर पाठ योजनासहित कक्षामा उपस्थिति हुने गरेका छन्। गाउँपालिकाले सतप्रतिशत भर्ना र गुणात्मक शैक्षिक उपलब्धी नारा नै लिएर अघि बढेको छ।
 

 

प्रकाशित: १३ माघ २०७६ १०:३१ सोमबार

शैक्षिक_गुणस्तर अभ्यास