समाज

निकुञ्ज घुम्दै राजदूत

फाइल तस्बिर

चितवन – नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ।  छ  देशका राजदूत, युरोपेली संघका प्रतिनिधि, विश्व बैंकका प्रमुखलगायत विशिष्ट व्यक्ति आज यहाँ आउँदै छन्।

वाग्मती प्रदेश र भ्रमण वर्ष  प्रदेशस्तरीय प्रवर्द्धन समितिले राजदूत र विशिष्ट अधिकारीलाई निकुञ्ज घुमाउन लागेका हुन्। प्रवर्द्धन समितिका सहसंयोजक अनिल लामाले श्रीलङ्का, मलेसिया, अष्ट्रेलिया, भारत, रुस र बेलायतका राजदूतलाई यहाँ घुमाइने र पर्यटकीय गतिविधिका बारेमा अवगत गराइने जानकारी दिए।

उनका अनुसार विशिष्ट पाहुनालाई निकुञ्जभित्र जङ्गल सफारीसँगै सौराहामा हात्तीको फुटबल, पोलोलगायत गतिविधि तथा रात्रिकालीन भोजसहितको सांस्कृतिक कार्यक्रममा सहभागी गराइने छ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार प्रदेश सरकारसँगै जिल्ला समन्वय समिति, रत्ननगर नगरपालिका, सौराहाका मध्यवर्ती सामुदायिक वन तथा होटल र रेष्टुराँको सहयोगमा कार्यक्रम गर्न लागिएको हो। कार्यक्रममा २१ देशका राजदूत सहभागी हुने योजना भए पनि प्राविधिक कारणले सबै देशका राजदूत उपस्थित गराउन नसकिएको उनले जानकारी दिए।

गत साता बेल्जियमकी राजकुमारी एष्ट्रिडले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेकी थिइन्। भ्रमण वर्षमा विभिन्न देशका राजदूत र विशिष्ट पाहुनालाई भ्रमण गराउन सकेमा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार हुने अपेक्षा लिइएको छ।रासस

प्रकाशित: १३ माघ २०७६ ०४:२४ सोमबार

भ्रमण_वर्ष राजदूतहरू चितवन_राष्ट्रिय_निकुञ्ज घुम्दै