समाज

एम्बुलेन्समा गाँजा तस्करी गर्ने तीन पक्राउ

अवैध लागूऔषध गाँजा तस्करी गरेको अवस्थामा पक्राउ परेका चालकसहित तीन जनालाई सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सुशिलसिंह राठौर लगायत । तस्बिरः नागरिक

मकवानपुर- एम्बुलेन्समा अवैध लागूऔषध गाँजा तस्करी गर्दै गरेको अवस्थामा प्रहरीले चालकसहित तीन जनालाई पक्राउ गरेको छ। चितवनबाट फर्किरहेको एम्बुलेन्सलाई ईलाका प्रहरी कार्यालय नेवारपानीको प्रहरी टोलीले जाँच गर्दा तीन वटा झोलामा छ पोकामा लुकाई राखेको ३० किलो छ सय ग्राम गाँजा तथा ९१ हजार नेपाली रुपैयाँ र दुई हजार दुई सय भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ।

रौतहटको डुमरिया नगरपालिकास्थित डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्सका चालक डुमरिया-९ का ३९ वर्षीय महमद खलिद गाँजासहित पक्राउ परेका हुन्। एम्बुलेन्समा सवार डुमरिया-४ का १९ वर्षीय अशोक कुमार र भारतको विहार राज्यको मोतिहारी जिल्ला बसन्तपुरका २२ वर्षीय विनोद सहनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले बताए।

‘मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको एम्बुलेन्समा गाँजा रहेको विशेष सूचना शनिबार साँझ हामीलाई प्राप्त भयो,’ उनले भने, ‘पूर्व–पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानीमा एम्बुलेन्स जाँच गर्दा गाँजा भेटियो, त्यसपछि चालक, यात्रु, रुपैयाँ र एम्बुलेन्सलाई प्रहरी टोलीले नियन्त्रणमा लियो।’

एम्बुलेन्सबाट लागूऔषध ओसारपसार गर्दै आएको पाइएको बताउँदै उनले ठूलो सञ्जाल संलग्न रहेको हुन सक्ने भएकाले थप अनुसन्धान भईरहेको बताए। ईलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी नायव निरीक्षक(सई)को नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको थियो।

यसैबिच, लागूऔषध नाईट्रोभेट ७३ ट्याबलेटसहित एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। हेटौंडा उपमहानगरपालिका-१५ स्थित सडकमा शंकास्पद रुपमा हिडिरहेको हेटौंडा-१५ का २२ वर्षीय बिजय डिम्डुङ र हेटौंडा-१६ का २६ वर्षीय सोम थोकर पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले जाँच गर्दा उनीहरुको साथबाट नाईट्रोभेट फेला परेपछि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही भईरहेको प्रहरीले जनाएको छ। यसअघि, नेपाली र भारतीय एम्बुलेन्स र अपराधसँग सम्बन्धित निकायकै गाडी प्रयोग गरी पटक–पटक लागूऔषध ओसारपसार गर्दै आएको पाईएको थियो।

भारतीय क्राईम चेक अर्गनाईजेशनको सचिवको लोगो र भारतीय झण्डासहितको कारमा ४८ किलो आठ सय ग्राम गाँजासहित हेटौंडा उपमहानगरपालिका-९, तिनताप्केबाट बैशाख ६ गते एक भारतीय र दुई जना नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो।

पूर्व–पश्चिम राजमार्गअन्तरगत हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटेबाट बिआर ०१ पीएफ ७९९८ नम्बरको भारतीय कारमा चार किलो नौ सय ग्राम चरेश लुकाएर लैजादै गर्दा भदौ २८ गते तीन भारतीय युवकलाई पक्राउ गरेको थियो।

 

प्रकाशित: १२ माघ २०७६ ११:३० आइतबार

एम्बुलेन्स तस्करी