समाज

काम नगर्ने पप्पुको आयोजना कार्यालयलाई घुर्की, मन्त्रालयको संरक्षण

अलपत्र त्रिसुली नदी माथिको पुल। तस्बिर : नागरिक

गोरखा- पप्पु कन्ट्रक्सनले जिम्मा लिएर अलपत्र छाडेको चितनवको इच्छाकामना गाउँपालिका र गोरखको गण्डकी  गाउँपालिका जोड्न त्रिसुली नदी माथीको पुलको काम वर्ष दिनदेखि ठप्प प्रायः छ। भूकम्पमा भत्किएको घर पुल बनेपछि निर्माण सामग्री ढुवानी गरेर सहज रुपमा बनाउने आसमा बसेका स्थानीयले झोलुङगे पुलबाट सामग्री बोकेर घर बनाए। तर पप्पु कन्ट्रक्सनले तीन वर्ष अघि सिध्याउनुपर्ने पुल अहिले सम्म १६ प्रतिशत मात्रै पुरा गरेको छ।

काम नगर्ने, कार्यालयको सम्पर्कमा नरहने भएपछि गोरखा स्थित एघार किलो छेवेटार भालुस्वाँरा सडक आयोजनाले निर्माण कम्पनी सँग काम गर्न अघि लिएको रकम (मोविलाईजेशन) पेश्की फिर्ता गर्‍यो। कन्ट्रक्सनले पुनराबेदन अदालतमा मुद्धा दर्ता गर्‍यो तर हार्‍यो। कार्यालय बिरुद्ध अहिले कन्ट्रक्सनले सर्वोच्च अदालतमा दायर गरेको मुद्धा बिचाराधिन छ। जिल्ला स्थित कार्यालयले ठेकेदारलाई कारवाहीको दायरमा ल्याउने प्रयत्न गरिरहेका बेला भौतिक पूर्वाधार बिकास मन्त्रालयले भने ठेकेदारको माग अनुसार बेलिब्रिज बनाईदिएर सहज गरिदिने निर्णय गरेको छ। ‘अब त्यहाँ बेलिब्रिज बन्ने पक्का भएको छ’ आयोजना कार्यालय गोरखाका इन्जिनियर राजेश यादवले भने ‘निर्माण सामग्री लैजान समस्या भएको भन्दै आएका ठेकेदारले त्यसपछि काम गर्न सक्छु भनेका छन्।’ पप्पु कन्ट्रक्सनलाई एक वर्ष नयाँ काम लिन नमिल्ने गरी सरकारले प्रतिवन्ध लगाएको छ। यो अवस्थामा पुराना काम गर्न पाएपनि उक्त कन्ट्रसनले नयाँ ठेक्का लिन पाउँदैन।

मन्त्रालयको पुल महाशाखाले अन्यत्र प्रयोग भएको बेलिब्रिज केही समयका लागि बुट्टारमा राख्ने भएको हो। १७ करोड लगानीमा त्यहाँ बन्ने पक्की  पुलको काम १६ प्रतिशत भएको छ भने भुक्तानी १५ प्रतिशत मात्रै भएको छ। छ वर्षमा अहिले सम्म दुबै तर्फ पिल्लर मात्रै उठाइएको छ। पिलरमा प्रयोग भएको रड खिया लागेर थोत्रिएको छ। पक्की पुलको आश गरेर बसेका सर्वसाधारण झोलुङ्गे पुल भएर आउजाउ गर्न बाध्य छन्। ‘हामीले काम गरेको ठाउँमा मान्छे देख्दैनौँ, सहजिकरण गर्न पनि कोही आउनुहुन्न’ गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले भने ‘खोज्दा जिम्मेवार ब्यक्ती फिल्डमा कोही भेटिँदैन।’ गण्डकी गाउँपालिकाको भुम्लिचोक, मकैसिंङ लगायत ठाउँ भएर आउजाउ गर्नेहरुलाई सास्ती भएको उनले बताए।

अहिले बेलिब्रिज राख्न लागिएको ठाउँ नजिकै त्रिशुली नदीमा बन्न लागेको एक सय मेघावाटको जलविद्युत आयोजनाले बेलिब्रिज राख्न सघाउने सम्झौता भएको छ। हाईड्रो पावर निर्माणका लागि आवस्यक सामग्री ढुवानी गर्न सहज हुने भएकाले बेलिब्रिज निर्माण जलविद्युत आयोजनाले गर्न लागेको प्रोजेक्ट म्यानेजर निरञ्जन रेग्मीले बताए। सामग्री ढुवानी गर्ने माध्याम नहुँदा हाईड्रो पावरको काम समेत प्रभावित भएको छ।

पक्की पुल बन्ने भन्दा ३० मिर माथि बेलिब्रिज बन्छ’ इन्जिनियर यादबले भने। एक सय मिटर लामो बेलिब्रिज बन्ने भएको हो। काम नगर्ने पप्पुलाई सघाउन पुल महाशाखाले बेलिब्रिज बनाईदिने निर्णयको  आलोचना भएको छ। बेलिब्रिज बनाएपछि पुल निर्माण गर्न चाहिने सामग्री गोरखा तर्फ लैजान र काम गर्न सहज हुने तर्क ठेकेदारको छ। तर स्थानीयले भने बेलिब्रिज बाट आउजाउ गर्न मिल्ने भएपछि झनै ठेकेदारले काम नगर्ने हो कि भन्ने चिन्ता गरेका छन्।

 

 

प्रकाशित: १२ माघ २०७६ ०५:०० आइतबार

त्रिशुली बेलिब्रिज पप्पु