समाज

विश्व साईकल यात्रामा श्रेष्ठ

विश्व साईकल यात्राकाक्रममा यूएई पुगेका कर्ण श्रेष्ठ । तस्बिर: नागरिक

खोटाङ– खोटाङका साईकल यात्री कर्ण श्रेष्ठले विश्व साईकल यात्रा सुरु गरेका छन्। केही समयअघि मात्र नेपालका ७७ वटै जिल्लाको साईकल यात्रा पूरा गरेका श्रेष्ठले पुनः यूएईबाट विश्व साईकल यात्रा थालेका हुन्।

गत पुस १८ गते जिल्ला समन्वय समितिबाट बिदाई भएका श्रेष्ठले माघ २ गतेदेखि विश्व साईकल यात्रा सुरु गरेका हुन्। विश्व साईकल यात्राकाक्रममा यूएईमा हाइवेमा साईकल कुदाउन नपाउने भएकाले फुटपाथमा कुदाउनु परेको श्रेष्ठले बताए। ‘यहाँ हाइवेमा साईकल कुदाउन नपाइदो रहेछ, फुटपाथबाट कुदाउनु पर्छ,’ श्रेष्ठले भने, ‘सबै फुटपाथमा साईकल जादैन। फुटपाथमा पनि सबैतिर साईकल लान मिल्दैन।’

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका श्रेष्ठ ‘विश्व शान्ति कायम गरौं’ भन्ने नाराका साथ सो यात्रामा निस्किएका हुन्। यूएईको यात्रा सकेपछि मोअन जाने तयारी भएको श्रेष्ठले बताए। उनलाई जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर बिश्वकर्माले खादा ओढाएर राष्ट्रिय झण्डा प्रदान गर्दै बिदाई गरेका थिए।

२०७५ साल चैत ३ गते राष्ट्रव्यापी साईकल यात्रामा निस्केका श्रेष्ठले २०७६ साल असोज ९ गते चितवन पुगेर भ्रमण पूरा गरेका थिए। दुबईबाट सुरु भएको साईकल यात्रा ओमन, कतार, साउदीअरब, कुवेत, बहराईन लागायतका खाडी मुलुक तथा एसियन मुलुक हुँदै यूरोपियन मुलुकमा पुग्ने श्रेष्ठले बताए। साईकल यात्री श्रेष्ठका आमा नरछिमी श्रेष्ठ, श्रीमती देवीका श्रेष्ठ र दुई छोरा छन्।

 

प्रकाशित: ११ माघ २०७६ १०:५२ शनिबार

विश्व_साईकल यात्रा