समाज

सुनकोसीमा झोलुंगे पुल

सुनकोसीमा दुर्छिम हैदे र बाँसबोटेको भाते जोड्ने झोलुंगे पुल उद्घाटन गर्दै पूर्वसभाषद पाँचकर्ण राई । तस्बिर: नागरिक

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको लिम्चुङबुङ गाउँपालिका जोड्ने झोलुंगे पुल निर्माण गरिएको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम हैदे र लिम्चुङबुङ गाउँपालिका–१ बाँसबोटेको भाते जोड्ने सुनकोसीमा १५८ मिटर लम्बाई भएको झोलुंगे पुल निर्माण गरिएको हो। सस्पेन्सन ब्रिज डिभिजन (एसविडि) पुलचोक काठमाडौंको १ करोड ९ लाख रुपैयाँमा निर्माण गरिएको पुल शुक्रबार पूर्वसभाषद पाँचकर्ण राई (पिके)ले उद्घाटन गरेका छन्।

हालसम्म ढुंगा सञ्चालन हुँदै आएको स्थानमा झोलुंगे पुल निर्माण भएपछि स्थानीयलाई आवत–जावत गर्न सहज भएको छ। पूर्व सभाषद राईकै पहलमा झोलुंगे पुल निर्माण गरिएको दुर्छिमका वडा सदस्य फलामसिं राईले बताए। २०७४ सालमा जगदम्बा निर्माण सेवा हलेसीले पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो। पुल उद्घाटनकाक्रममा नेकपाका जिल्ला सचिव रामप्रसाद दंगाल, कार्यलय सदस्य जीवन राई संगिन, सचिवालय सदस्य खडेन्द्र राई लगायतको उपस्थिति रहेको थियो।

हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा, जोर्तीघाट, बाईटार चिपटारमा पनि झोलुंगे पुल निर्माण भइरहेको छ। कुर्लेघाट र बाइसेमा पनि झोलुंगे पुल उद्घाटनको तयारी भइरहेको तथा भाटबेँसीको झोलुंगे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको पूर्वसभाषद राईले बताए।

 

प्रकाशित: ११ माघ २०७६ १०:३२ शनिबार

सुनकोसी झोलुंगे_पुल