उपेन्द्र यादव/मदन ठाकुर
बारा/रौतहट – सिम्रौनगढको मौलिकताको खोज गर्न पुरातात्विक अन्वेषण सुरु गरिएको छ। जमिनमुनि दबिएर रहेका दरबारका पर्खाल, कुनै भौतिक संरचना वा मानव सभ्यताको विकाससँग जोडिएका वस्तु जमिनमाथिबाटै पत्ता लगाउन सकिने आधुनिक उपकरणसहित पुरातात्विक विभागको टोलीले अन्वेषण सुरु गरेको हो। पुरातात्विक विभागका पुरातात्विक अधिकृत सुशीलकुमार गौतमको नेतृत्वमा खटिएको टोलीमा बेलायतको दुरहाम विश्वविद्यालयका पुरातात्विकविद् रिचार्ड विलिस, एलिस नेलोर र वरिष्ठ पुरातात्विकविद् देवेन्द्रनाथ तिवारी रहेका छन्। पुरातात्विक विभाग र सिम्रौनगढ नगरपालिकाको सहकार्य सुरु सो अन्वेषणले ११औं शताब्दीभन्दा पहिलाका दरबार र बस्ती पत्ता लगाउने विश्वास गरिएको अधिकृत गौतमले जानकारी दिए। यसअघि २०५५ देखि २०५८ सालसम्म तीन वर्ष लगाएर पुरातात्विक अन्वेषण गरी सिम्रौनगढ क्षेत्रका विभिन्न स्थानमा उत्खनन गर्दा तिरहुत लिपिमा लेखिएका खण्डित शिलालेख फेला पर्नुका साथै हजारौं वर्ष पुराना माटाका भाडा, तामाको हात्तीलगायत पुरातात्विक महत्वका वस्तु फेला परेका थिए।
१८ वर्षपहिला गरिएको पुरातात्विक अन्वेषणमा पुरानो विधि प्रयोग गरिए पनि अहिले भू–छेदन रडार र विद्युत् चुम्बक विधि गरी नयाँ प्राविधिबाट अन्वेषण सुरु गरिएको टोलीले जनाएको छ। अहिलेको अन्वेषणबाट जमिनमुनि अढाई मिटर गहिराइसम्मका पुराना घरहरूको अवशेष र अन्य वस्तुहरूलाई पत्ता लगाउन सजिलो भएको गौतमले बताए। भू–छेदन रडार र विद्युत् चुम्बक विधिबाट रानीबासमा गरिएको अन्वेषणबाट त्यस क्षेत्रमा रहेको हजारौं वर्ष पुरानो १ सय ५० मिटर लम्बाइ र ८० मिटर चौडाइका पर्खाल पत्ता लागेको टोलीमा खटेका वरिष्ठ पुरातात्विकविद् देवेन्द्रनाथ तिवारीले जानकारी दिए। सिम्रौनगढमा ११औं शताब्दीदेखि १४औं शताब्दीसम्म कर्णाट वंशले राजधानी बनाएर राज्य गरेको भए पनि त्यो पहिलाको मानव सभ्यताको विकास र बस्तीको अवस्थाबारे पता लगाउन सजिलो हुने विश्वास गौतमले गरे।
यसअघि २०५५ देखि २०५८ सालसम्म तीन वर्ष पुरातात्विक अन्वेषण गरी सिम्रौनगढ क्षेत्रका विभिन्न स्थानमा उत्खनन गर्दा तिरहुत लिपिमा लेखिएका खण्डित शिलालेख फेला पर्नुका साथै हजारौं वर्ष पुराना माटाका भाडा, तामाको हात्तीलगायत पुरातात्विक महत्वका वस्तु फेला परेका थिए।
सिम्रौनगढ नगरपालिका प्रमुख विजयशंकर यादवले सिम्रौनगढको मानव बस्तीको विकास र कर्णाट वंशभन्दा पहिलाको अवस्थाबारे पत्ता लगाई दिन पटकपटक पुरातात्विकलाई आग्रह गर्दा विभागलाई सिम्रौनगढमा टोली खटाउन सजिलो भएको टोलीले जानकारी दिएको छ। टोलीका अनुसार भू–छेदन रडार र विद्युत् चुम्बक विधि गरी अन्वेषण गरिएको स्थानमुनिका वस्तुको विस्तृत प्रतिवेदन तयार गर्न ६ महिनासम्म लाग्ने र त्यसपछि मात्र उत्खननको काम सुरु गरिने योजना रहेको छ।
सिम्रौनगढको इतिहास ११औं शताब्दीदेखि सुरु भएको बताइए पनि सन् १०९७ मा कर्णाट वंशीय राजा नान्यदेवले राज्य गर्नुभन्दा पहिलादेखि नै यसको विकास भएको दाबी नगरप्रमुख यादवले गरे। उनले भने, ‘राजा नान्यदेवले सिम्रौनगढलाई मिथिलाको राजधानी बनाई सन् १०९७ देखि १३२७ सम्म कर्णाट वंशले शासन गरेको भन्दा पहिलादेखि नै यहाँ मानव सभयताको विकास भएको पाइएको छ।’ राजा हरिसिहं देवको पालामा दिल्लीका बादशाह गयासुद्दिन तुकलकले सिम्रौनगढमाथि आक्रमण गरेपछि यसको अस्तित्व समाप्त भएको थियो। सिम्रौनगढमा रहेका दारबार ध्वस्त भएपछि तत्कालीन राजा शिवसिंहको निवास अर्थात् राजदरबारलाई भत्काएर जंगबहादुर राणाका छोरा जितजंग जबराले १९३५ सालमा रानीवास मन्दिर निर्माण गरेका थिए।
२०५५ देखि २०५८ सालसम्मको अन्वेषणमा विभागले इटलीको ‘आइएसएमइओ’ नामक संस्थाको सहयोग र पुरातात्विकविद्को सहभागितामा स्थलगत अध्ययन र उत्खनन गरेपछि तत्कालीन राजा वीरेन्द्रबाट त्यस क्षेत्रको संरक्षण र पर्यटन विकासका लागि नक्सा तयार गर्न निर्देशन भएको थियो।
ईसाको चौथो शताब्दीतिरको दुर्लभ मूर्ति रहेको यो ठाउँ पुरातात्विकविद् र अनुसन्धानकर्ताका लागि उत्तिकै महत्वपूर्ण, आकर्षक र पर्यटकीय रूपमा भए पनि यसको महत्व बुझेर संरक्षणमा पहिलादेखि नै राज्य नलागेको गुनासो यादवले गरे।
त्यस्तै, सो टोलीले रौतहटको मौलापुर नगरपालिकाको पतौरास्थित ऐतिहासिक तथा पुराताŒिवक सम्पदाको स्थलगत अध्ययन गरेको छ। पतौरास्थित भूतनाथ महादेवको मन्दिर निकै पुरानो भएको र कर्णाटकालीन अवशेष भेटिएको प्रारम्भिक अध्ययनले देखाएको छ। पुरातात्विकविद् तारानन्द मिश्रको नेतृत्वमा पतौराको पुरातात्विक अध्ययन गरिएको हो। सो क्रममा बेलायती टोलीले जमिनको एक्सरे मेसिनले अध्ययन गरेको थियो। टोलीले गरेको अध्ययनको विस्तृत विवरण केही महिनापछि आउने बताइएको छ।
प्रकाशित: १० माघ २०७६ ०३:२५ शुक्रबार