समाज

थुनामा राख्ने आदेशअघि नै कृष्णदास भारततिर

फाइल तस्बिर

इटहरी – जबर्जस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न उच्च अदालत विराटनगरले बिहीबार आदेश दिएको छ। जिल्ला अदालत सुनसरीले पुस १४ गते तीन लाख रुपैयाँ धरौटी लिएर छाडेपछि चित्त नबुझेको भन्दै जिल्ला महान्यायाधिवक्ता गोकुलबहादुर निरौलाले उच्च अदालतमा निवेदन दर्ता गरेका थिए। जिल्ला अदालतको आदेश बदर गर्दै बिहीबार उच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको इजालसले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामै राखेर मुद्दा पुर्पक्ष गर्न आदेश दिएका हुन्।

उच्च अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियाका अनुसार मुद्दामा बुझिएका व्यक्तिहरूले दिएको बयान, प्रतिवादी गिरी, उनकै आश्रमका अनुयायी, पीडितका पति, कागजव्यहोरालगायत अनुसन्धान र मिसिल कागजात रहेको सन्दर्भमा धर्मगुरुबाट पर्ने अनुचित प्रभाव, डरत्रासले तत्काल गिरी कसुरदार होइनन् भन्ने प्रमाण नपुगेकाले जिल्ला अदालतको आदेश बदर गरी अब बुझिएको प्रमाणबाट पछि ठहर हुनेगरी थुनामै राखेर मुद्दा पुर्पक्ष गर्न आदेशमा भनिएको छ।

उच्च अदालत विराटनगरबाट थुनामा राख्ने आदेश हुनुअघि नै गिरी भने भारततर्फ भागेका छन्। प्रहरीले निगरानी बढाएपछि उनी आफ्नो सुरक्षा गार्ड हवल्दार मुकेश शाहलाई जोगवनी नाकासम्म सँगै लिएर गएका हुन्। ‘काम विशेषले जोगवनी जाऔं भनेपछि सँगै गयाैं, त्यसपछि सिद्धबाबासहित चारजना भारततर्फ लागे,’ मुकेशले भने, ‘हतियार बोकेकाले मचाहिँ फर्किएँ।’

आदेशमा मुलुकी फौजदारी कार्यविधि २०७४ को दफा ७६ को उपदफा १ (क) बमोजिम मुद्दाको पुर्पक्ष गर्न भनिएको छ। रजिस्ट्रार थपलियाका अनुसार आदेशमा गिरीलाई प्रहरीले पक्राउ गरी अनुुसन्धान गर्दा हिरासतको सट्टा पुरै अवधिभर अस्पतालमा बसेकोमा पनि उच्च अदालतको ध्यानाकर्षण भएको उल्लेख छ। प्रतिवादीले हिरासतमा बस्नुको सट्टा अस्पतालमा बसेको सरकारी न्यायाधिवक्ताले बहस गरेका थिए। त्यसमा उच्चको आदेशमा अब आइन्दा आकस्मिक उपचारका लागि बढीमा ७२ घण्टाबाहेक अन्य अवस्थामा तीन सरकारी चिकित्सकले सिफारिस गरी कारागारलाई लेखिपठाउन भनिएको छ।

आफ्नै अनुयायीलाई चतरा आश्रममा जबर्जस्ती करणी गरेको भन्दै मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी परेपछि १६ गते विराट नर्सिङ होममा उपचार गर्न भर्ना भएपछि गिरी पक्राउ परेका थिए। तर अनुसन्धान अवधिभर गिरी अस्पतालमै बसेका थिए।

प्रकाशित: १० माघ २०७६ ०२:५९ शुक्रबार

जबर्जस्ती_करणी