उदयपुर – तेह्र वर्षीया किशोरी रिमावुङ राईलाई महिनावारी हुँदा परिवार र समाजबाट कुनै समस्या छैन। छोरी किशोरावस्थामा पुगेको थाहा पाएका बाबुआमाले पहिलो महिनावारी हुनुअघि नै सचेत गराउँदै नआत्तिन, तागतिलो र झोलिलो पदार्थ खान तथा राम्रोसँग सरसफाइ गर्न सल्लाह दिएकाले उनलाई पहिलो महिनावारीमा पनि कुनै अप्ठ्यारो महसुस भएन।
उनीजस्तै १२ वर्षीया तयामी राईलाई पनि महिनावारीको पीडा अहिलेसम्म महसुस भएकै छैन। शिक्षित बाबुआमा र खुला पारिवारिक वातावरण भएकैले उनीहरूलाई महिनावारी हुँदा समस्या नभएको हो। महिनावारी हुन लागेको कुरा जब आमालाई थाहा हुन्छ, बाबु स्वयंले मेडिकल गएर प्याड किनेर ल्याइदिन्छन्। महिनावारी अवधिभर राम्रोसँग नुहाइधुहाइ गर्न, सागसब्जी, गेडागुडीको रस र झोलिलो पदार्थ तथा फलपूmल प्रशस्त खान बाबुआमाबाटै उनीहरूलाई सुझाव प्राप्त हुन्छ। महिनावारी हुँदा उनीहरूलाई भान्सा जान, खानाखाजा बनाउन कुनै रोकतोक हुन्न।
महिनावारीको कुरामा उनीहरूको परिवार सचेत र स्पष्ट भएकैले समस्या परेको छैन। यस्तो बेला अरूलाई छुनै नहुने गरी अछुतको व्यवहार गर्ने परम्पराले किशोरी महिला र आमा तथा दिदीबहिनी प्राकृतिक चक्रमा पनि सामाजिक दण्डको सजाय भोग्न बाध्य मात्र छैनन्, अकालमा मृत्यु अँगाल्नुपर्नेसम्मका दुःखान्त वियोग भोग्न बाध्य छन्।
‘देवता रिसाउने, नर्कमा बास हुने, पितृले नस्विकार्ने’ जस्ता अन्धविश्वास र धार्मिक मान्यताको बाँध भत्काउन नसकेकै कारण जनप्रतिनिधि र प्रहरीको अगुवाइमा अछाममा ‘छाउगोठ भत्काऊ अभियान’ चलाइएको छ। जनप्रतिनिधिले अगुवाइ गरेपछि मात्र अछामका गाउँगाउँमा पुगेको प्रहरीले दर्जनौं छाउगोठ भत्काउन सफल भएको हो। तर, घरपरिवरि बनाइएका छाउगोठ भत्काइए पनि ‘मनको छाउगोठ (अन्धविश्वास)’ नभत्काएसम्म पश्चिम नेपालको यो दुर्दशा टाढिएला भन्न सकिन्न। पश्चिमजस्तो दर्दनाक स्थिति पूर्वी नेपालका महिलाले भने भोग्नुपरेको छैन।
पश्चिमको दाँजोमा शिक्षा र चेतनास्तर उक्सेकै कारण पूर्वी जिल्लामा महिनावारीलाई सामान्य प्रक्रियाको रूपमा लिने गरिएको छ। धेरै कम समुदायमा खासगरी ब्राह्मण÷क्षेत्री परिवारमा पहिलो महिनावारी हुँदा ५ दिनसम्म बाब र दाजुभाइको मुख हेर्न नहुने विश्वासले छोरीलाई आफन्तको घरमा राख्ने गरिएबाहेक प्रायः सर्वसाधारणमा महिनावारी हुँदा किशोरी छोरीलाई कुनै बारबन्देज लगाउन छाडिएको छ। भान्छामा भने छोरीबुहारी महिनावारी हुँदा प्रवेश पाउन अझै केही समुदायमा बन्देजै कायम छ तर, पश्चिममा जस्तो हप्तादिनसम्म छाउगोठमै बास बस्नुपर्ने बाध्यता दशकौंअघि पूर्वी नेपालमा हटिसकेको छ।
उदयपुरमा पछिल्लो दुई वर्षयता प्रायः सबै विद्यालयमा महिनावारीलाई सहज पार्न प्याड वितरण र निर्माण अभियान नै चलाइएको छ। महिनावारी हुँदा छात्राहरू पढ्न नआउने समस्या टार्न सुरुमा गैरसरकारी संस्थाको अगुवाइमा नियमित विद्यालय उपस्थित गराउन उनीहरूलाई प्याड उपलब्ध गराइएको थियो। तर, पछिल्लो एक वर्षयता धेरै विद्यालयले छात्राकै सक्रियतामा स्कुलमा प्याड बनाएर प्रयोग गर्न थालेपछि नियमित स्कुल आउने र पठनपाठन सहज भएको छ।
जिल्लाका प्रायः सबै सामुदायिकअन्तर्गत कक्षा ६ देखि १२ सम्मका आधारभूत र माविका छात्रा आफैंले प्याड बनाएर प्रयोगमा ल्याउन थालेपछि पठनपाठन नियमित र सहज भएको शिक्षकहरू बताउँछन्। सदरमुकाम गाईघाट र बजार क्षेत्रका विद्यालय मात्र होइन, विकट पहाडी भेगका विद्यालयमा पनि यो क्रमले अभियानकै रूप लिइसकेको छ।
ताप्ली गाउँपालिका–३ इनामेस्थित मावि झिल्केपोखरीका प्रधानाध्यापक गोविन्द खड्काका अनुसार सुरुको वर्ष जाल्पा एकीकृत विकास समाज उदयपुर नामक गैरसरकारी संस्थाले प्याड किनेर स्कुललाई सहयोग ग¥यो। वर्ष दिनसम्म किनेर दिँदा खर्च धेरै लागेपछि प्याड बनाउने तालिम संस्थाले नै सञ्चालन गरेर स्कुलमै प्याड बनाउन थालियो। तालिम पाएपछि बाहिरबाट कच्चा पदार्थ ल्याएर छात्रा आफैले प्याड बनाएर प्रयोग गर्दै आएपछि अहिले कसैको सहयोग नचाहिएको र पढाइ पनि सुचारु हुने गरेको प्रअ खड्का बताउँछन्।
उदयपुरका सहरी क्षेत्रमा मात्र होइन, विकट स्थानीय तहका गाउँगाउँका विद्यालयमा छात्रालाई प्याड प्रयोग गर्न र विसर्जन गर्न भनेर छुट्टाछुट्टै कोठा भएको भवनसमेत बनाउने क्रम चलेको छ। झिल्केपोखरी माविमा शौचालयसँगै जोडेर प्याड प्रयोग गर्न र विसर्जन गर्न अलग्गै कक्षसहितको सानो भवन नै बनाइएको छ। ताप्लीकै ४ नं. वडास्थित मावि चिसापानीमा प्रशासनिक कक्षसँग जोडिएको छात्रा शौचालयमै किशोरीहरू प्याड प्रयोग गरेर विसर्जन गर्ने गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दानबहादुर श्रेष्ठले बताए। उनका अनुसार प्याडको सुविधापछि छात्रा छात्रसरह कक्षामा उपस्थित हुने गरेकाले पहिलेजस्तो किशोरीको पढाइमा बाधा पर्ने गरेको छैन।
जिल्ला समन्वय समिति र खानेपानी तथा सरसफाइ मन्त्रालयको साझेदारीमा आयोजित कार्यक्रममा जिल्लाका सामुदायिक तथा निजी विद्यालयका किशोरकिशोरी, शिक्षकशिक्षिका तथा अभिभावकको सहभागिता थियो। सम्मेलनले धेरै रुढीग्रस्त सोच बोकेका अभिभावकको आँखा खुलेपछि जनमानसमा चेतनास्तर बढेको जिल्ला समन्वय प्रमुख खड्ग परियार बताउँछन्।
प्रकाशित: ८ माघ २०७६ ०२:०० बुधबार