भद्रपुर- झापाको मेचीनगर नगरपालिकाले विद्यावारिधि (पिएचडी) अध्ययनका लागि नगरक्षेत्रका दुई विद्यार्थीलाई नगद ५० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको छ। मेचीनगर–११ का विष्णु रिमालले राजनीतिक शास्त्रमा र मेचीनगर–९ का सम्पर्कबाबु सिलवालले जलविज्ञानसम्बन्धि विषयमा विद्यावारिधिका लागि सो छात्रवृत्ति प्राप्त गरेका हुन्।
मेचीनगर नगरपालिकाले माध्यमिक तहसम्मको शिक्षामा विपन्न, जेहेन्दार र दलित विद्यार्थीलाई यस अघिदेखि नै छात्रवृत्ति प्रदान गर्दै आए तापनि विद्यावारिधि तहमा पहिलोपटक प्रोत्साहनस्वरुप छात्रवृत्ति प्रदान गरेको नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले जानकारी दिइन्।
नगरपालिकाले झापा विद्रोहका शहीद वीरेन राजवंशीको स्मृतिमा प्रत्येक वर्ष कूल १० लाख रपैयाँको विपन्न तथा दलित छात्रवृत्ति वितरण गर्दै आएको छ। सो छात्रवृत्ति गत आर्थिक वर्षमा प्राविधिक विषयमा अध्ययनरत ४ सय ७८ जनालाई वितरण गरिएको नगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले बताए।
उनका अनुसार कक्षा ११ र १२ मा पशु तथा कृषि विज्ञान पढ्ने विद्यार्थीलाई गैरदलित भए दुई हजार ५ सय रुपैयाँ र दलित भए तीन हजार रुपैयाँका दरले वार्षिक छात्रवृत्ति वितरण गरिएको छ। नगरपालिकाले प्राविधिक विषयमा स्नातक र स्नाकोत्तर नगरका विद्यार्थीलाई नगद पाँच हजार रुपैयाँका दरले रकम प्रदान गरेको बताए।
प्रकाशित: ७ माघ २०७६ ०८:०३ मंगलबार