समाज

हराएका नागरिक खोज्दै कोरियाका राजदूत हिमपहिरो स्थलमा

हराएका नागरिकको खोजीका प्रगतिबारे पोखरामा कोरियाली राजदुतद्वारा आयोजित पत्रकार भेटघाट। तस्बिरः सन्तोष पोखरेल/नागरिक

पोखरा - अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा हिमपहिरोमा परेर आफ्ना चार जना नागरिक हराएको भन्दै नेपालस्थित कोरियाली दूतावासले चिन्ता व्यक्त गरेको छ। बेपत्ता भएका आफ्ना नागरिकको खोजीका लागि नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिकसहितको टोली सोमबार हेलिकप्टरबाट घटनास्थल निरीक्षणमा पुगेको हो।

घटनास्थलबाट पोखरा फर्केका राजदूत सिकले आफ्ना नागरिक हराएको भन्दै चिन्ता जनाए। पोखरामा पत्रकार भेटघाट गरेर राजदूत सिकले खोजीका लागि नेपाल सरकारले गरेको पहलको पनि प्रशंसा गरे। ‘नेपाल सरकारले खोजिका लागि अहिले जे जति पहल गरेको छ। असहज परिस्थितिका बाबजुत पनि खोजीमा सरकार जुटेको छ,’ उनले भने, ‘हामीले पनि त्यो ठाउँ हेलिकप्टरबाट हे¥यौ। खतराजनक क्षेत्र रहेछ, खोजी गर्न निकै कठिन पनि रहेछ।’

गत शुक्रबारको हिमपातपछि आएको हिमपहिरोमा परेर पदयात्राबाट फर्किदै गरेका चारजना कोरियाली र तीनजना नेपाली गाइड सम्पर्कविहीन भएका छन्। राजदूत सिकले अप्ठेरोका बाबजुत पनि घटनास्थलमा खोजि भइरहेको बताए। ‘अहिलेको मौसम र घटनास्थल हेर्दा तत्काल केही गर्न सकिने अवस्था छैन। हामीले प्रहरीको सहयोगको निरन्तर अपेक्षा गरेका छौ,’ उनले भने। राजदूत सिकले बेपत्ता नागरिक तत्काल भेट्न कठिन रहेको भन्दै कुनै उत्तम विकल्प तयार भएमा कोरिया सरकारले नै उद्धारकर्ता वा प्रविधि ल्याउन पनि सक्ने बताए। ‘उत्तम उपाय भएमा हामीले सोच्न पनि सक्नेछौ,’ उनले भने।

पत्रकार सम्मेलनमा कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले मौसम अनुकुल नहुँदा खोजीमा सहज नभएको जानकारी दिएका थिए। सोमबार सेनाको हेलिकप्टरमा जिल्लाका सुरक्षा निकायका प्रमुख सहितको टोली त्यस क्षेत्रमा पुगेर फर्केको थियो। ‘हेलिकप्टरमा लगेर भएपनि सेना, सशस्त्र र प्रहरीको खोजी टिम छाड्ने योजना थियो। तर, त्यो पनि सफल हुन सकेन,’ उनले भने, ‘मौसम  पनि अनुकुल छैन। त्यस ठाउँमा हेलिकप्टर पनि अवतरण गर्नै ठाउँ छैन।’

बेपत्ता विदेशी र स्वदेशी नागरिकको खोजीका लागि १० जना स्थानीयबासि त्यही ठाउँमा रहेको उनले बताए। ‘अहिले पनि बेलाबेला सानो आकारको हिमपहिरो झरिरहेको छ। असुरक्षित महसुस गर्दागर्दै पनि स्थानीयबासिलाई हामीले सुरक्षित रहेर खोजीमा जुट्न आग्रह गरेका छौ,’ उनले भने। मौसम सफा भएर घाम लागेको खण्डमा पनि त्यस क्षेत्रको हिउँ पग्लिन एकमहिनासम्म लाग्ने उनले बताए। ‘पैदलै भएपनि प्रहरी, स्थानीयबासि र पदयात्री व्यावसायीलाई त्यस क्षेत्रमा खटाउने तयारी छ,’ एसपी कार्कीले भने, ‘उच्च हिमाली भेग भएकोले जो कोहीले त्यहाँ काम गर्न सक्दैन। मौसम अनुकुलु हुनासाथ उद्धारको टोली खटिन्छ।’

कार्कीका अनुसार उद्धारमा खटिने सेना, सशस्त्र र प्रहरीको टोली तयारी अवस्थामा छ। त्यस्तै सेनाले हेलिकप्टर पनि तयार पारेको छ। ‘हामी पनि हराएका व्यक्तिलाई छिटो फेला पार्न चाहेका हौ,’ उनले भने। हराएका व्यक्ति रहेको आशंकामा दुई ठाउँमा लक्षित गरेर संकेत पनि गरिसकेको उनले बताए। उनका अनुसार घटनास्थलका दुई ठाउँमा प्लाष्टिक भेटिएकोले ती क्षेत्र पनि सम्भावित रहेको भन्दै संकेत राखिएको छ। उनले उच्च हिमाली भेगमा काम गर्न सक्ने क्षमता र प्रशिक्षित सेना, प्रहरीको टोली तयारी अवस्थामा राखेको जानकारी दिए।

प्रकाशित: ६ माघ २०७६ १३:३० सोमबार

पदमार्ग राजदूत हिमपहिरो बेपत्ता