समाज

वृद्धवृद्धा भेटघाट चौतारी बनाउँदै गाउँपालिका

खोटाङ – जिल्लाको खोटेहाङ गाउँपालिकाले प्रत्येक वडामा वृद्धवृद्धा भेटघाट चौतारी बनाउने तयारी गरेको छ। वृद्धवृद्धा भेला हुने, आराम गर्ने, गफगाफ गर्ने लगायतका प्रयोजनका लागि गाउँपालिकाले ९ वटै वडामा एक–एक भेटघाट चौतारी बनाउने तयारी गरेको हो। वृद्धवृद्धा भेटघाट चौतारी बनाउन चालू आर्थिक वर्षमा ९ लाख रूपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए।

विनियोजित रकमबाट एक–एक लाख रूपैयाँका दरले प्रत्येक वडामा वृद्धवृद्धा भेटघाट चौतारी निर्माण गरिने जनाइएको छ। माथि छाना हालेको भेटघाट चौतारीमा तल चारैतिर बस्न र आराम गर्न मिल्ने संरचना निर्माण गरिने गाउँपालिका अध्यक्ष राईले बताए।

वृद्धवृद्धाको सम्मान एवं उनीहरूको सहजताका लागि वडा–वडामा भेटघाट गर्ने चौतारी निर्माण गर्न लागिएको हो। गाउँपालिकाले हरेक वृद्धवृद्धालाई ज्येष्ठ नागरिक परिचयपत्र पनि वितरण गर्दै आएको छ। हरेक वडामा वर्षको एक दिन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गर्ने गरिएको र सोही अवसरमा स्वास्थ्य परीक्षणसमेत गर्ने गरिएको गाउँपालिका अध्यक्ष राईले बताए।

प्रकाशित: ६ माघ २०७६ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App