समाज

गाउँका प्राविधिक स्कुलमा विद्यार्थी अभाव

लापीलाङ माविमा कृषि बाली विज्ञानको तीन बर्से तहका विद्यार्थी। तस्बिर : रमेश/नागरिक

दोलखा – सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा एक प्राविधिक शिक्षा सञ्चलान गर्ने कार्यक्रम सुरु गरेको थियो। त्यसैअनुसार दोलखाको लापीलाङ माविले गत शैक्षिक वर्षबाट तीन बर्से कृषि बाली विज्ञान विषय पढाउने अनुमती पायो। ४० जना विद्यार्थी पढाउन अनुमति पाएको उक्त विद्यालयमा पहिलो वर्ष १९ जना विद्यार्थी मात्रै भर्ना भए।

विद्यालयले ३७ जनाका लागि भर्ना खुल्ला गरेको भएपनि १९ जना मात्रै भर्ना भएको प्रधानाध्यापक दिपक खड्काले जानकारी दिए। भर्ना भएकामध्ये चार जनाले बीचमै पढाइ छोडेका थिए। त्यसपछि १५ जनाले मात्र पढ्दै आएको उनको भनाइ छ। चालु शैक्षिक सत्रमा गतवर्षभन्दा पनि कम विद्यार्थी भर्ना भएको प्रअ खड्काले बताए। उनकाअनुसार १६ जना विद्यार्थी भर्ना भएका छन्।

विद्यालयले निकालेको सूचनाअनुसार बाली विज्ञान विषयका लागि विद्यार्थी भर्ना भएको भए अहिले यो विद्यालयमा ८० जना विद्यार्थी हुनुपर्ने थियो, तर पहिलो वर्षका १५ र दोस्रो वर्षका १६ जना गरेर जम्मा ३१ जना विद्यार्थी मात्रै रहेका छन्। गाउँमा प्राविधि शिक्षाका पढाइ सुरु भएपनि विद्यार्थीको अभाव हुने गरेको छ।

३१ जना मध्ये ५ जना मात्रै कालीञ्चोक गाउँपालिकाका विद्यार्थी रहेको प्रअ खड्काले बताए। बाँकी सबै विद्यार्थी जिल्ला बाहिरका रहेको उनको भनाइ छ। स्थानीय विद्यार्थी प्राविधिक शिक्षामा भर्ना हुन रहर गरेपनि पढाइमा समस्या हुने भएकाले नाम निकाल्न नसक्ने डरले भर्ना हुन नआउने गरेको विद्यालयको भनाइ छ। दुर्गम गाउँका विद्यार्थीलाई प्राविधिक शिक्षामा पहुँच बढाउन गाउँमै प्राविधि विषयको पढाइ सुरु गरेपनि विद्यार्थी अभाव हुने गरेको छ।

विद्यालयमा पढ्दै गरेका ३१ जनामध्ये ६ जना छात्रवृत्तिका विद्यार्थी रहेका छन्। अन्य विद्यार्थीले भने तीन वर्षसम्मको लागि डेढ लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने छ। बाली विज्ञानको तीन वर्षसम्म ६ वटा विषयमा पढाइ हुने गर्दछ। यो विद्यालयमा मधेश र कर्णालीका जिल्लाबाट अध्यायनका लागि विद्यार्थी आएको बताइएको छ।

यो विद्यालयमा विद्यार्थीलाई प्रयोगात्मक रूपमा सिकाउने ठाउँसमेत अभाव छ। ठाउँ अभावले प्रयोगात्मक कक्षाका लागि गाउँघर साथै जिल्लाका विभिन्न ठाउँमा पु¥याएर प्रयोगात्मक शिक्षा दिँदै आइएको विद्यालयले जनाएको छ।

प्रकाशित: ६ माघ २०७६ ०२:५० सोमबार

प्राविधिक_स्कुल विद्यार्थी