समाज

बलिदानी दिवसमा दीप प्रज्वलन

भैरहवा- रुपन्देहीमा पनि मधेश आन्दोलनका शहीदहरुको सम्झनामा बलिदानी दिवस मनाइएको छ। भैरहवाको मिलनचोकमा समाजवादी पार्टी र राजपा नेपाल रुपन्देहीले संयुक्त रुपमा दीप प्रज्वलन गरी बलिदानी दिवस मनाएका हुन्।   
मधेश विद्रोहको क्रममा शहिद भएको सम्झनामा बलिदानीको संज्ञा दिँदै मधेश केन्द्रीत दलले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउदै आएका छन्।

दीप प्रज्जवलन अघि आयोजित कार्यक्रममा बोल्ने समाजवादी र राजपाका नेताहरुले शहिदहरुको बलिदानीका कारण नै देशमा परिवर्तन भएको बताए। उनीहरुले शहिदहरुको सपना साकार पारेर छाड्ने दाबी गरे।

कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे, समाजवादी पार्टी प्रदेश नम्बर ५ का सदस्य तथा प्रदेशसभा सांसद सन्तोषकुमार पाण्डेय, पार्टीका प्रदेश सदस्य महेन्द्र यादव, रुपन्देहीका अध्यक्ष राम अवतार यादव, राजपा रुपन्देहीका अध्यक्ष राजेश रञ्जन वर्मा (अजय वर्मा) लगायतले बोल्दै अहिलेको संविधानले सबै नागरिकको अधिकार समेट्न नसकेकोले संविधान संशोधनको आवश्यकता रहेकोमा जोड दिए।

उनीहरुले संविधान संशोधन नभएसम्म संघर्ष जारी रहने बताए।
 

प्रकाशित: ५ माघ २०७६ १३:४२ आइतबार

बलिदानी_दिवस दीप_प्रज्वलन