समाज

भ्रमण वर्ष सफल पार्न डडेल्धुरामा महोत्सवको तयारी

उद्योग वाणिज्य संघका अध्यक्ष भट्ट लगायत पदाधीकारी । मायाको चिनोका लागि तामाबाट स्थानीय स्तरमै बनेको मानो, फोलो ।

डडेल्धुरा- पर्यटन भ्रमण वर्षलाई सफल पार्न डडेल्धुरामा महोत्सवको आयोजना गरिने भएको छ। नेपाल सरकारले सञ्चालन गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नेपाल सरकारकै नारा सुखी नेपाली समृद्ध नेपाल कृषि पर्यटनसँगै उद्योग र व्यापार समृद्धीको आधार भन्ने मुल नाराका साथ डडेल्धुरा उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गर्न लागेको हो।

टिकट बिक्रीको १० प्रतिशत रकम एयरपोर्ट र प्राबिधिक शिक्षाका लागि छुट्याईने

आउदो फागुन महिनाको ८–१८ गतेसम्म सुदूरपश्चिम प्रदेश स्तरिय कृषि पर्यटन औद्योगिक व्यापार मेला एवं चौथो डडेल्धुरा महोत्सव २०७६ को अयोजना गर्न लागिएको डडेल्धुरा उद्योग वाणिज्य संघ जनायो। पर्यटन भ्रमण वर्ष २०२० लाई सफल पार्न सुदूरपश्चि प्रदेशले बनाएको नारा देव भूमि, सुन्दर भूमि, सुन्दर सुदूरपश्चिमलाई पनि आत्मसात गरिएको डडेल्धुरा उद्योग वाणिज्य संघले जनाएको छ।

५० लाख रकम आय व्ययको अनुमानित बजेटमा आयोजना गर्न लागिएको महोत्सवको टिकट बिक्रीको १० प्रतिशत रकम डडेल्धुरामा एयरपोर्ट निर्माण र डडेल्धुरा बहुमुखी क्याम्पसमा प्राबिधिक विषय अध्ययन अध्यापनका लागि छुट्याइने डडेल्धुरा उद्योग वाणिज्य संघ अध्यक्ष लोकराज भट्टले बताए।

अध्यक्ष भट्टले भने, 'नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले पनि पर्यटन भ्रमण वर्षलाई मनाइरहेका छन्। यसको सफलताका हिसावले पनि बिशेष छ। सुदूरपश्चिमका अरु सबै जिल्लामा एयरपोर्ट भए पनि डडेल्धुरामा नभएकाले टिकट बिक्रीको केही रकम एयरपोर्ट निर्माणका लागि छुट्याउने भएका छौ। कुनै समय तीन हजारसम्म विद्यार्थी पुग्ने डडेल्धुरा शिक्षा क्याम्पस बहुमुखी बनाइदा पनि विद्यार्थीको आकर्षण हुन सकेको छैन। यस क्याम्पसमा प्राबिधिक विषय अध्ययनका लागि पनि टिकट बिक्रीको केही रकम छुट्याउने निर्णय गरेका छौ भने खास गरी यस वर्ष डडेल्धुरामा उत्पादन हुने वस्तुलाई मायाको चिनोका रुपमा अतिथीहरुलाई प्रदान गर्दै छौ।'

अतिथीहरुलाई मायाको चिनोसँगै यहाँको परम्परागत रुपमा पानी भर्न प्रयोग गरिने तामाबाट बनेको फोलो दिइने छ। आधुनिक बजारिकरण नहुँदा परम्परागत रुपमा गरिने व्यापारमा मानो पाथीले वस्तु विनिमय एवं बिक्री वितरण गरिने भएकाले मानोलाई भने मायाको चिनोका रुपमा अतिथीलाई उपहार दिने उनले बताए। गाउँ घरमा अहिले पनि चामल मानोले नै नापिने चलन रहेको छ।

महोत्सवको मुख्य आकर्षणका रुपमा यस वर्ष सेती नदीमा र्‍याफ्टिङ र हेलिकप्टर मार्फत अपि, सैपाल हिमाल, खप्तड क्षेत्र लगायत डडेल्धुरको परशुराम धाम, आलिताल, गन्यापताल धुरा, अमरगढी किल्ला, घटालथालन , उग्रतारा क्षेत्रको अवलोकन गराउने उनले बताए।

डडेल्धुरामा उद्योग वाणिज्य संघले सुदूरपश्चिको कञ्चनपुर, कैलालीपछि पहाडी जिल्लामै पहिलो पटक २०६५ सालमा महोत्सवको आयोजना गरेको थियो। त्यसपछि रोकिएको महोत्सव २०७१ र २०७२ सालमा पुनः अयोजना गरिएको भए पनि त्यसपछि वाणिज्य संघ महोत्सवको आयोजना गर्न सकेको थिएन। यस वर्षलाई नेपाल सरकारले पर्यटन भ्रमण वर्ष २०२० मनाउनुका साथै प्रदेश, स्थानीय तहहरुले पनि मनाई रहदा पर्यटन, व्यापार, कृषि  र समग्र विकासको ध्ययका साथ चार वर्षसम्म रोकिएको महोत्सव फेरी उद्योग वाणिज्य सघंले आयोजना गर्न लागेको अध्यक्ष भट्टको भनाई छ।

२०६५ सालमा भट्ट पहिलो पटक डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा महोत्सवको आयोजना गरिएको थियो भने उनी दोस्रो पटक अध्यक्ष बनेका छन्।
 

 

 

प्रकाशित: ५ माघ २०७६ ११:२२ आइतबार

भ्रमण_वर्ष महोत्सव