समाज

ठूलो परिमाणमा लागूऔषध सहित दुईजना पक्राउ

सर्लाही- सर्लाहीबाट ठूलो परिमाणमा लागूऔषध सहित दुईजना पक्राउ परेका छन्। कास्कीको लेखनाथ पोखरा महानगरपालिका–१ घरभई हाल तनहुको शुक्लागण्डकी नगरपालिका–३ बस्ने ३५ वर्षीय पूर्णबहादुर तामाङ तथा तनहुको शुक्लागण्डकी नगरपालिका–७ का ४३ वर्षीय यज्ञचन्द्र आलेलाई ठूलो परिमाणमा लागूऔषध सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए। आईतबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सम्मेलन गर्दै बरामद् लागूऔषध सहित अभियुक्त सार्वजनिक गरेको छ।

भारतको सोनवर्षाबाट सर्लाहीको पर्सा गाउँपालिकातर्फ आउँदै गरेको बा. १२ च ३५२७ नम्बरको कार शंका लागेर चेकजाँच गर्दा कार भित्र राखिएको १०० मिलिलिटरको २१० बोतल फेन्सिडिल र ९०० थान नाईट्राभेट ट्याब्लेट बरामद् भएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए। त्यस्तै कार भित्रैबाट नगद ३ लाख ६७ हजार रुपैयाँ, हङकङ डलर २४ तथा ५० सेन्ट, ५ थान मोबाईल समेत बरामद् भएको भन्दै प्रहरीले सार्वजनिक गरेको छ। तामाङले कार चलाएका थिए भने आले अगाडिको सीटमा बसेका थिए।

उनीहरु पेशेवर रुपमा लागूऔषधको कारोबार गर्ने गरेको प्रहरीको दाबी छ। पक्राउ परेका दुवैजनालाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रकृया अगाडी बढाईने प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए।

प्रकाशित: ५ माघ २०७६ १०:४० आइतबार

लागूऔषध पक्राउ लागुपदार्थ