समाज

पहिरो र खोलाबाट असुरक्षित करोडौंका खानेपानी आयोजना

बृहत पम्पिङ खानेपानी आयोजनाको कदुवास्थित राँगाकाटे उकालो राखिएको सिपोलिन पाईप । तस्बिर: दमन/नागरिक

खोटाङ– बाढी र पहिरोको जोखिम देखाउँदै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको मूख्यलाईनको रुट परिवर्तनको माग गरेको छ। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) हलेसी तुवाचुङ नगर कमिटिले दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने दुई मूख्य लाईनमध्ये भुम्जुडाँडातर्फको पाईपलाइनको रुट परिवर्तनको माग गरेको हो।

ठेकेदार कम्पनी दिवा–महादेव खिम्ती जेभीले दुधकोसीको पानी हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलिमाबेँसीबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडामा निकाल्ने पाईपलाईनको काम पहिरो गइरहने ठाउँ र सान्य खोलाबाट गरिरहेकाले बर्षाको समयमा असुरक्षित हुने देखिएको नेकपा हलेसी तुवाचुङ नगर कमिटिका अध्यक्ष सुरेन्द्र राईले बताए।

नेकपा नगर कमिटिले आईतबार जिल्ला प्रशासन कार्यालय र संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङलाई ज्ञापनपत्र बुझाउँदै पहिरो र खोलालाई छलेर हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको पाईपलाइनको काम गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। बर्षाको समयमा सान्य दोभान क्षेत्रमा पहिरो जाँदा खानेपानी आयोजनाको पाईप टुट्ने फुट्ने जोखिम देखिएकाले बिकल्प सोच्नुपर्ने अवस्था देखिएको नेकपाले जनाएको छ।

यस्तै, सान्य खोलामा खानेपानी आयोजनाको पाईप राख्दा बाढीले पाईप बगाउने खतरा देखिएको अध्यक्ष राईले बताए। आयोजना कै लागि गाडिएको कतिपय विद्युतका पोल पहिरोले ढालेको र ठेकेदारले त्यही पोललाई ठड््याएर तार टाँगेको स्थानीयको गुनासो छ। ‘पानीको बिकराल समस्या भएका सयौं नागरिकलाई पिउने पानीको व्यवस्थाका लागि ९६ करोडको आयोजना सञ्चालन हुनु सुखद पक्ष हो,’ अध्यक्ष राईले भने, ‘तर आयोजनाको पाईपलाइन मालेमा खोलाभित्रबाट र त्यसभन्दा माथि पहिरो गइरहने क्षेत्रबाट गरिएको छ। असुरक्षित क्षेत्रबाट भइरहेको आयोजना दिर्घकालिन नहुने खतरा देखिएको छ।’

मध्यपहाडी लोकमार्गको हलेसी–जयराम सडक खण्डको राँगाकाटेभन्दा तल्लो क्षेत्रका जमिन चर्किरहने र पहिरो गइरहने क्षेत्र भएकाले आयोजनालाई असर पुग्ने र करोडौं रकम बालुवामा पानी खन्याए सरह हुने देखिएको ज्ञापन–पत्रमा भनिएको छ। योजनालाई सहजरुपमा सम्पन्न गर्न र दिर्घकालिन बनाउनका लागि नेकपाले संघीय तथा प्रदेशसभाका सांसद, जिल्ला समन्वय समिति, हलेसी तुवाचुङ नगरपालिका, निर्माण कम्पनी, हलेसी खोटाङ (बृहत पम्पिङ) खानेपानी तथा सरसफाई उपभोक्ता समिति लगायतलाई आग्रह गरेको छ।

दुधकोसीबाट पानी लिफ्ट गरेर नगरपालिकाका १ देखि ७ वडाका कम्तीमा ३ हजार ७५६ घरधुरीलाई वितरण गर्ने लक्ष्यका साथ बृहत पम्पिङ खानेपानी आयोजनाको काम थालिएको हो। भ्याट बाहेक ३१ करोड ७५ लाख ९६ हजार रुपैयाँ खर्चमा २०७६ साल पुस १७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७४ साल असार २१ गते मेनलाइनको ठेक्का लिएको दिवा–महादेव खिम्ती जेभीले हाल सिपोलिन पाईप बिछ्याउने काम गरिरहेको छ। दिवा–महादेव खिम्तीले गत पुस १७ गते नै आफ्नो म्याद नघाइसकेको छ।

सम्झौता अवधिमा काम सम्पन्न गर्न ध्यानाकर्षण  
नेकपा नगर कमिटिले हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको वितरण लाइन तर्फको काम गरिरहेको लामा कन्ट्रक्सन प्रालि र रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीलाई सम्झौता अवधिमा काम सम्पन्न गर्न ध्यानाकर्षण गराएको छ। लामा कन्ट्रक्सन प्रालि र रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीको काममा पनि चरम ढिलासुस्ती देखिएको भन्दै नेकपाले बाँकी काममा विलम्व नगर्न भनेको हो। काभ्रेडाँडामा निकालिएको पानीलाई २०७७ साल असार ३० गतेसम्ममा महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गरिसक्ने गरी २०७५ साल असार ३१ गते सम्झौता गरेको रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीले हालसम्म ४/५ प्रतिशत मात्र भौतिक प्रगती देखाउन सकेको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका इन्जिनियर माधवेन्द्र चौधरीले बताए। रमन सगरमाथा–सगरमाथा घिमिरेले २६ करोड ७५ लाख ५१ हजारमा वितरण लाइनको काम ठेक्का लिएको हो।

यस्तै, भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरणका लागि ठेक्का लिएको लामा कन्ट्रक्सनले करिब १५ प्रतिशत भौतिक प्रगती देखाएको छ। लामा कन्ट्रक्सनले ३७ करोड ९३ लाख ५७ हजारमा २०७७ साल असार ३० गतेसम्ममा सक्नेगरी २०७५ साल असार ३१ गते कामको सम्झौता गरेको थियो। रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीका डाइरेक्टर शम्भु घिमिरे र लामा कन्ट्रक्सनका पिताम्बर बडुले केही प्रतिनिधिको भरमा आयोजनाको काम छाड्दा ढिलासुस्ती भएको नेकपाका नेता जीवन राई संगीनले बताए।

प्रगती देखाउन नसकेपछि ठेकेदार कम्पनीले आफ्नो प्रतिनिधिलाई पटक–पटक परिवर्तन गर्ने गरेको पाइएको छ। तोकिएको समयमा काम सम्पन्न नभए आमरण अनसन नै बस्नुपर्ने अवस्था आउने हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।

 

प्रकाशित: ५ माघ २०७६ ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App