समाज

माझी बस्तीका ४६ घर उपयोगविहीन

सिन्धुपाल्चोक – सेतो रंग पोतिएको भित्तामा रातो–कलेजी घेरा। हरियो छाना। छानामाथि डिसहोमका एन्टेना। एउटै आकार र स्वरूपका झुरुप्प परेका घरहरूले टाढैबाट बस्ती चिटिक्क र सुन्दर देखिन्छ। मेलम्ची नगरपालिका–१२ शिखरपुरस्थित नमुना माझी गाउँ पुग्दा केही महिला पिँढीमा बसेर पारिलो घाममा शरीर तताउँदै थिए भने आँगनमा बालबालिका खेलिरहेको देखिन्थ्यो।

हिउँदको ठिहीले चिसिएको ज्यान बिहानीको पारिलो घाममा सेकाउँदै गर्दा भेटिए धनबहादुर माझी (६०) पनि। तर बाक्लो बस्तीमा रहेको उनको घरमा भने ताल्चा झुन्ड्याइएको थियो। बरु बस्तीको पछाडि ६ कोठे नयाँ आरसिसी घर ठडिएको थियो। धनबहादुुरले दुई वर्षअघि नै नमुना बस्तीको घर छोडेको सुनाए। ‘१३ सदस्यीय परिवार नमुना बस्तीका एककोठे घरमा नअटेपछि अर्कै घर बनाउनु प-यो,’ उनले भने।

२०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली संघले बनाइदिएको ४६ परिवारका लागि बनाइदिएका घर उपयोगबिहीन बनेका हुन्। सुन्दर बस्तीका अधिकांश घरमा ताल्चा लगाइएको छ। ‘परिवारका सदस्य नै नअट्ने भएपछि सबैले नमुना बस्तीका घर छोडिसके,’ धनबहादुरले भने। उनका अनुसार बस्तीको पछाडि खाली जमिनमा घर बनाएर स्थानीय सरेका छन्।

भूकम्पलगत्तै रोटरी इन्टरनेसनलसमेतको सहयोगमा थाई नेपाली संघले एक करोड सात लाख रूपैयाँ खर्चेर तीनटा सामूहिक धारा र एक सामुदायिक भवनसहितको बस्ती बनाएको थियो। आधा भागसम्म ढुंगाको गारो लगाइएको घरको बाँकी संरचनामा प्रिफ्याब प्रयोग गरिएको छ। निर्माणमा प्रयोग गरिएका सामग्रीका आधारमा बस्तीका घर ‘सेमिपर्मानेन्ट’ (अल्पकालीन) संरचना हुन्। प्रिफ्याब अहिल्यै टुट्न, फुट्न थालिसकेको छ।

फराकिलो भए पनि एककोठे घर व्यावहारिक नभएपछि विकल्प खोज्नु परेको स्थानीयले बताए। स्थानीयको भनाइ जस्तै नमुना बस्ती बनाउँदा दीर्घकालीन सोच राखेको पाइएन। सरकारले दिने तीन लाख रूपैयाँ अनुदानमा ऋणधन थपेर माझी समुदायले बस्तीको पछाडि पक्की घर बनाएका छन्। धेरै आरसिसी र केही लोडबियरिङ संरचनाका घर बनेका छन्। वैकल्पिक घर बनाउनु पर्दा ऋण लागेको माझीहरूको गुनासो छ।

भूकम्पअघि पनि माझी समुदायको एक घर बनाउन सकिने क्षमताभन्दा बढी घडेरी थिएन। घडेरीको धेरै क्षेत्रफल नमुना बस्तीले ओगटेको छ। बाँकी थोरै जमिनमा विकल्पमा बनेका घर पनि साना छन्। पर्याप्त घडेरी नभएकाले अधिकांश दुईकोठे घर बनेका छन्। तत्काललाई नमुना बस्तीले सुविधा दिए पनि अहिले घाँडो भएको कुमारी माझी (४५) ले सुनाइन्। ‘दुईकोठे अर्को घर त बनाएँ तै पनि पर्याप्त भएन,’ उनले भनिन्, ‘पहिल्यै सोचेर घर बनाइ दिएको भए यस्तो समस्या आउन्नथ्यो। ऋण पनि लाग्दैनथ्यो।’ नयाँ घर बनाउँदा चार लाख रूपैयाँ ऋण लागेको कुमारीले बताइन्। केही माझी समुदायले बस्तीका घरलाई अन्नपात राख्ने र भान्छा बनाएका छन्। बस्तीका कतिपय घर प्रयोगविहीन अवस्थामा छन्। वैकल्पिक संरचना बनाउन ठाउँ अपुग भएपछि पाँच परिवारले भइरहेको शौचालय भत्काएका छन्। अर्को शौचालय बनाउन ठाउँ छैन। शौचालय बनाउन नसक्दा त्यस्ता परिवारले तेस्रो किस्ता अनुदान पाउन सकेका छैनन्।

नमुना बस्तीका एककोठे घरमा कहाँ सुत्ने, कहाँ अन्नपात राख्ने, लुगाफाटा कता राख्ने, खाना कहाँ बनाउने र पाहुना आउँदा कसरी अटाउने भन्ने जस्ता समस्या आएपछि वैकल्पिक संरचना बनाउनु परेको माझी समुदायको भनाइ छ। नयाँ घर बनाउँदा उनीहरू ऋणले थलिएका छन्। आर्थिक रूपमा विपन्न माझी समुदायलाई उब्जनीले ६ महिनाभन्दा बढी खान पुग्दैन। नजिकको इन्द्रावती नदीमा माछा मारेर, बालुवा चालेर तथा मजदुरी गरेर उनीहरूले गुजारा चलाउँदै आएका छन्। नमुना बस्ती उपभोक्ता समितिका अध्यक्ष नारायाण माझीले बस्तीका सबै ४६ परिवारले अर्को घर बनाएको जानकारी दिए। ‘वैकल्पिक घर बनाउँदा माझी परिवारलाई दुईदेखि १० लाख रूपैयाँ ऋण लागेको छ,’ उनले भने।

प्रकाशित: ५ माघ २०७६ ०१:४९ आइतबार

माझी_बस्ती मेलम्ची