समाज

क्याम्पाडाँडामा विभत्स अवस्थामा महिलाको शव फेला

हेटौंडा- लैंगिक अल्पसंख्यकको अधिकारका लागि काम गर्दै आएकी अजिता भुजेलको शव विभत्स अवस्थामा फेला परेको छ। शनिबार बिहान कान्तिलोकपथ अन्तरगत हेटौंडा उपमहानगरपालिका-५ क्याम्पाडाँडामा उनको शव फेला परेको हो।

तेस्रो लिंगी भुजेलको शव अर्धनग्न अवस्थामा सडक छेउमा भेटिएको हो। शरिरको माथिल्लो भागमा मात्रै कपडा रहेको अवस्थामा रहेको शवको घाँटीमा दाग देखिएको प्रत्यक्षदर्शीले बताए। हेटौंडा ११ की २९ वर्षीया भुजेलको शव क्याम्पाडाँडाबाट चौघडा जाँदाको पहिलो मोडमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सुशिलसिंह राठौर सहितको प्रहरी टोली र मृतक भुजेलका साथीहरु पुगेका थिए। अजिताका साथीहरुले शव उनको भएको पुष्टि गरेका हुन्। अनुसन्धानका लागि घटनास्थलमा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको प्रहरीले जनाएको छ।

शवको प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।

प्रकाशित: ४ माघ २०७६ १२:२२ शनिबार

क्याम्पाडाँडा शव