समाज

फोन टावर निर्माण व्यवसायीले टेरेनन् सांसद र सिडिओलाई

जाजरकोटमा ६ वटा फोन टावर निर्माणका लागि सदरमुकाम खलंगामा बसेको सर्वपक्षीय वैठकका सहभागीहरु र पहिलो निर्णय। तस्बिर;जनक/नागरिक

जाजरकोट- जाजरकोटका विभिन्न स्थानमा नेपाल टेलिकमको टेलिफोन टावर निर्माणको जिम्मा लिएको एक भारतीय कम्पनीका निर्माण व्यवसायीहरुले यहाँका  जनप्रतिनिधि र स्थानीय प्रशासनलाई नटेरेको पाइएको छ। दुई वर्षअघि जिल्लाका विभिन्न ६ वटा स्थानहरुमा  टेलिफोन टावर निर्माणको जिम्मा लिएको भारतीय कम्पनी एमएस अस्टर प्रालिका प्रतिनिधिहरुले जिल्लाका जनप्रतिनिधि र स्थानीय प्रशासनसंग गरेको दुई पटकका लिखित बाचाहरु समेत वेवास्ता गर्दै टावर निर्माणको काम  समयमै पूरा नगरेका हुन्।

जाजरकोटका ग्रामीण भेगमा लामो समयदेखिको सञ्चार समस्यालाई  हल गर्न सरकारले थालेको काम लामो समय अलपत्र परेको भन्दै गत कार्तिक १७ गते जिल्ला प्रशासन कार्यालय जाजरकोट र कर्णाली प्रदेशका सांसद गणेशप्रसाद सिंहको समन्वयमा जाजरकोट खलंगामा  बसेको सर्वपक्षीय बैठकमा उक्त कम्पनीका प्रतिनिधि र नेपाल टेलिकमका अधिकारीहरुले मंसिर मसान्तसम्म तीन वटा र माघ मसान्तभित्र थप तीनवटा टेलिफोन टावर निर्माण गर्ने बाचा गरेका थिए। 

प्रमुख जिल्ला अधिकारी, प्रदेश सांसदहरु र सातै स्थानीय तहका प्रमुखहरु तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा उनीहरुले मंसिर मसान्तभित्र नायकवाडा, शेरीगाउँ र मजकोटमा र माघ मसान्तभित्र सक्ला पैंक र डाडागाउँमा टावर निर्माणको काम सक्ने लिखित सम्झौता गरेको भए पनि  अहिलेसम्म मजकोट बाहेक अन्य कुनै टावर निर्माणको काम पूरा नगरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए। उनले मजकोटमा टावर बनाए पनि माघ महिना सुरु हुने बेलासम्म नायकवाडा र शेरीमा भने  टावर निर्माण नभएको बताए।

यसैबिच निर्माण कम्पनीका प्रतिनिधिहरुले नेपाल टेलिकमका  अधिकारीहरुको रोहवरमा कर्णाली प्रदेश सभा सदस्य गणेशप्रसाद सिंहसँग पनि छिटै काम सुरु गर्ने भन्दै गत साउन १७ गते लिखित बाचा गरेका थिए। पहिलो चरणको बाचा पूरा नभएपछि पुनः जाजरकोट खलंगामा स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार नागरिक समाज, नेपाल टेलिकमका अधिकारी र अन्य सरोकारवालाहरुकोबीचमा निर्माण कम्पनीका प्रतिनिधिहरुले दोस्रो पटक कार्तिक १७ गते दास्रो पटक  लिखित बाचा गरेका थिए। तर उनीहरुले दुवै पटकको बाचा पूरा गर्न  सकेका छैनन्।

मंसिरभित्र ३ र माघभित्र थप ३ वटा टावर निर्माण गरिसक्ने बाचा गरिएको भए पनि अहिलेसम्म उक्त बाचा पूरा नहुँदा स्थानीयहरु आक्रोसीत बनेका छन्। यस बारेमा नेपाल टेलिकमका उपनिर्देशक मिनु प्रधानले टावर निर्माणको काममा ढिलाई भएको बताउदै निर्माणको जिम्मेवारी लिएर काम नगर्नेहरुमाथि कारबाहीको प्रक्रिया अघि बढेको बताइन्। उनले निर्माणको काम नरोकिएको भए पनि आफूले गरेको बाचा अनुसार कम्पनीले समयमै काम नगरेको बताइन्।

बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले आफूले पाएको जिम्मेवारी अनुसार काम गर्न निर्माण कम्पनी र नेपाल टेलिकमका अधिकारीहरुले कुनै चासो र जवाफदेहीता नदेखाएको बताए। उनीहरुको पारा हेर्दा गाउँमा फोनका टावरहरु बन्लान जस्तो लाग्दैन, अध्यक्ष शाहले भने।  खलंगामा भएको सर्वपक्षीय वैठकमा पनि स्थानीय जनता र स्थानीय सरकारलाई पुरै वेवास्ता गर्ने खालको व्यवहार देखाएको र छोटो समयमै काम गर्ने तर्फ उनीहरुले कुनै इच्छाशक्ति नदेखाएको अध्यक्ष शाहले आरोप लगाए।

यस्तै फोन टावर निर्माणका विषयमा निरन्तर ताकेता र मेहनत गर्ने गरेका कर्णाली प्रदेश सभाका सदस्य गणेशप्रसाद सिंहले पनि फोन टावर निर्माणको जिम्मा लिएका व्यक्तिहरु सामाग्री र काम बिचैमा छोडेर भागेको भन्ने खबर आफूले पाएको बताए। उनले आफूले दुई पटक उनीहरुलाई लिखित बाचा गराए पनि अहिलेसम्म काम हुन नसकेको र अब आफू नेपाल टेलिकमको उच्च नेतृत्वसम्म पुगेर टावर निर्माणको लागि फेरि ताकेता गर्ने तयारीमा रहेको बताए। तोकिएको समयमा आफ्नो जिम्मवारी पूरा नगर्ने निर्माण व्यावसायीलाई कालोसूचीमा राखेर कारबाही गर्न आफूले  सम्बन्धित निकायमा माग गरेको समेत उनले बताए।  

जिल्लाका ग्रामीण भेगमा गतिलो फोनको सुविधा नभएर जनताले धेरै सास्ती पाउने गरेको भए पनि सरोकारवालाहरुले भने आफ्नो जिम्मेवारीको ख्याल नगर्दा विकासको काम अलपत्र पर्ने गरेको  शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले बताए। उनले  राज्य र जनतासँग  काम गर्छु भनेर सम्झौता गर्ने, कागज गर्ने तर  कामै नगर्ने जो कोहि भएपनि कारबाहीमा पर्नुपर्ने बताए। अहिले  गाउँमा फोन सेवा अवरुद्ध भएर लामो समय जनतालाई सास्ती भएको र गतिलो फोन सेवाका लागि टावर पनि बढी क्षमताका हुनुपर्ने सर्वसाधारणहरुको माग छ।

 

 

प्रकाशित: ४ माघ २०७६ ११:३१ शनिबार

फोन_टावर_निर्माण_व्यवसायी सांसद