मेलम्ची (सिन्धुपाल्चोक)- सेतो रंग पोतिएको भित्तामा रातो–कलेजी घेरा। हरियो छाना। छानामाथि डिसहोमका एन्टेना। एउटै आकार र स्वरुपका झुरुप्प परेका घरहरुले टाढैबाट बस्ती चिटिक्क र सुन्दर देखिन्छ। मेलम्ची नगरपालिका–१२ शिखरपुरस्थित नमूना माझी गाउँ पुग्दा केही महिला पिँढीमा बसेर पारिलो घाममा शरीर तताउँदै थिए भने आँगनमा बालबालिका खेलिरहेका।
हिउँदको चिसोले चिसिएको ज्यान बिहानीको पारिलो घाममा सेकाउँदै गर्दा भेटिए धनबहादुर माझी (६०) पनि। तर बाक्लो बस्तीमा रहेको उनको घरमा भने ताल्चा झुण्ड्याइएको थियो। बरु बस्तीको पछाडि ६ कोठे नयाँ आरसिसी घर ठडिएको थियो। धनबहादुुरले दुई वर्षअघि नै नमूना बस्तीको घर छोडेको सुनाए। ‘१३ सदस्यीय परिवार एक कोठे घरमा नअटेपछि अर्कै घर बनाउनु पर्यो,’ उनले भने।
२०७२ वैशाख १२ गते को बिनासकारी भूकम्पपछि थाइ नेपाली संघले बनाइदिएको ४६ घरधुरीको नमूना माझी गाउँ उपयोगबिहीन बनेको छ। सुन्दर बस्तीका अधिकांश घरमा ताल्चा झुण्डिएको छ। ‘साँघुरो भएकाले सबैले नमूना बस्तीका घर छोडिसके,’ धनबहादुरले भने। उनका अनुसार बस्तीको पछाडि खाली जमिनमा घर बनाएर स्थानीय सरेका छन्।
भूकम्प लगत्तै रोटरी इन्टरनेसनल समेतको सहयोगमा थाइ नेपाली संघले एक करोड सात लाख रुपैयाँ खर्चेर तीन वटा सामूहिक धारा र एक सामुदायिक भवनसहितको बस्ती बनाएको थियो। आधा भागसम्म ढुंगाको गारो लगाइएको घरको बाँकी संरचनामा प्रिफ्याब प्रयोग गरिएको छ। निर्माणमा प्रयोग गरिएका सामाग्रीका आधारमा बस्तीका घर ‘सेमिपर्मानेन्ट’ (अल्पकालीन) संरचना हुन्। प्रिफ्याब अहिल्यै टुट्न, फुट्न थालिसकेको छ।
फराकिलो भए पनि एउटा मात्र कोठाको घर व्यवहारिक नभएपछि बिकल्प खोज्नु परेको स्थानीयले बताए। स्थानीयको भनाइ जस्तै नमूना बस्ती बनाउँदा दीर्घकालीन सोच राखेको पाइएन। सरकारले दिने तीन लाख रुपैयाँ अनुदानमा ऋणधन थपेर माझी समुदायले बस्तीको पछाडि पक्की घर बनाएका छन्। धेरै आरसिसी र केही लोडवियरिङ संरचनाका घर बनेका छन्। बैकल्पिक घर बनाउनु पर्दा ऋण लागेको माझीहरुको गुनासो छ।
भूकम्पअघि पनि माझी समुदायको एक घर बनाउन सकिने क्षमताभन्दा बढी घँडेरी थिएन। घँडेरीको धेरै क्षेत्रफल नमूना बस्तीले ओगटेको छ। बाँकी थोरै जमिनमा बिकल्पमा बनेका घर पनि साना छन्। पर्याप्त घँडेरी नभएकाले अघिकांश दुई कोठे घर बनेका छन्। तत्काललाई नमूना बस्तीले सुविधा दिए पनि अहिले घाँडो भएको कुमारी माझी (४५) ले सुनाइन्। ‘दुई कोठे अर्को घर त बनाएँ। तैपनि पर्याप्त भएन,’ उनले भनिन्। भएको घँडेरी बस्तीले चर्चिँदा सानो घरमा कष्टकर दैनिकी गुजार्न बाध्य छिन् उनी।
ठाउँ अभाव भएपछि उनले बस्तीको घरलाई राखन्धरान गर्ने र भान्छा तथा नयाँ संरचनालाई सुत्ने कोठाको रुपमा प्रयोगमा ल्याएकी छिन्। ‘पहिल्यै सोचेर घर बनाइ दिएको भए यस्तो समस्या आउँन्नथ्यो। ऋण पनि लाग्दैनथ्यो,’ नयाँ घर बनाउँदा चार लाख रुपैयाँ ऋण लागेको सुनाउँदै कुमारीले भनिन्।
केही माझी समुदायले बस्तीका घरलाई अन्नपात राख्ने र भान्छा बनाएका छन्। बस्तीका कतिपय घर प्रयोगविहीन अवस्थामा छन्। बैकल्पिक संरचना बनाउँन ठाउँ अपुग भएपछि पाँच परिवारले भइरहेको शौचालय भत्काएका छन्। अहिले अर्को शौचालय बनाउन ठाउँ नै छैन। शौचालय बनाउन नसक्दा त्यस्ता परिवारले तेस्रो किस्ता अनुदान पाउन सकेका छैनन्।
बस्तीको एक कोठे घरमा कहाँ सुत्ने, कहाँ अन्नपात राख्ने, लुगाफाटा कता अटाउँने, खाना कहाँ बनाउने र पाहुना आउँदा कसरी अटाउँने भन्ने जस्ता समस्या आएपछि बैकल्पिक संरचना बनाउनु परेको माझी समुदायको भनाइ छ। नयाँ घर बनाउँदा उनीहरु ऋणले थलिएका छन्। आर्थिक रुपमा बिपन्न माझी समुदायलाई उब्जनीले ६ महिनाभन्दा बढी खान पुग्दैन।
नजिकको इन्द्रावती नदीमा माछा मारेर, बालुवा चालेर तथा मजदुरी गरेर उनीहरुले गुजारा चलाउँदै आएका छन्। नमूना बस्ती उपभोक्ता समितिका अध्यक्ष नारायाण माझीले बस्तीका सबै ४६ परिवारले अर्को घर बनाएको जानकारी दिए। ‘बैकल्पिक घर बनाउँदा माझी परिवारलाई दुईदेखि १० लाख रुपैयाँ ऋण लागेको छ,’ उनले भने।
प्रकाशित: ३ माघ २०७६ १४:०९ शुक्रबार