समाज

उत्तरी गोरखामा हिउँपहिरो, मनास्लु पदमार्ग बन्द

गोरखा- उत्तरी गोरखामा शुक्रवार दिनभर भारी हिमपात भएको छ। तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिको सामागाउँ, छेकम्पार लगायत धार्चे गाउँपालिकाको लाप्राकमा बाक्लो हिउँ परेको हो। हिउँ अत्याधिक परेसँगै मनास्लु पदमार्गको बिभिन्न ठाउँमा पहिरो बगेको छ। हिउँ पहिरोका कारण मनास्लु पदमार्ग बन्द रहेको वडा नम्बर ४ का अध्यक्ष पेम्बाडुण्डुप लामाले बताए।

नामरुङ गाउँ भन्दा करिब पाँच सय मिटरमाथि हिउँ पहिरो खसेको छ। करिब पाँच सय मिटरमाथिबाट बुढीगण्डकीमा पहिरो खसेको छ। वडा नम्बर २ को भर्जम गाउँ र वडा नम्बर ४ को नमरुङ गाउँमा पहिरो खसेपछि स्थानीय त्रसित भएका छन्। हिउँ पहिरोले रुख समेत बगेर पहिरोमा आएको वडा अध्यक्ष लामाले बताए। हिउँपहिरोमा परी धेरै जंगली जनावर मरेको हुन सक्ने अनुमान स्थानीयको छ।

दिनभर हिमपातसँगै पहिरो नरोकिएपछि स्थानीय घर बाहिर निस्कन सकेका छैनन्। पहिरोले ल्हो र प्रोकबीचको पदमार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ। लगातार वर्षात र हिमपात भएका कारण उत्तरी गोरखाका स्थानीय त्रसित छन्। लार्के प्रहरी चौकीले शुक्रबार बिहानैदेखि पहिरो आसपास भएर आउजाउ गर्न रोक लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओम अधिकारीले बताए। बिहीबारदेखि मौसम बदली हुँदा लगातार तल्लो क्षेत्रमा पनि बर्षात भईरहेको छ।

लाप्राकमा पनि पाँच फिट हिउँ जमेको छ। गैरआवासीय नेपाली संघ एनआरएनले निर्माण गरिरहेको लाप्राक एकीकृत बस्ती निर्माणको काम दुई साता यता रोकिएको धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए। अत्याधिक हिउँ परेपछि लाप्राक पुगेका सवारी साधन फर्कन सकेको छैन। अत्याधिक चिसोका कारण स्थानीय घरभित्रै आगो तापेर बसेका छन्। जताततै हिउँको थुप्रो लागेको छ भने पानी जमेपछि जनजीवन प्रभावित भएको अध्यक्ष गुरुङले बताए।

 

प्रकाशित: ३ माघ २०७६ १३:४२ शुक्रबार

उत्तरी_गोरखा हिउँपहिरो