समाज

त्रियुगामा ५० हजार पर्यटक भित्र्याउने तयारी

पर्यटन वर्ष सफल पार्न सुझाव माग्दै त्रियुगा नगरपालिका मेयर बलदेव चौधरी । तस्बिरः महेश्वर

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिकाले ‘पर्यटन वर्ष २०२०’ लाई सफल पार्न बिबिध कार्यक्रम गर्ने तयारी गरेको छ। सरकारले घोषणा गरेको भ्रमण वर्षमा त्रियुगामा ५० हजार पर्यटक भित्र्याउने गरी बिभिन्न कार्यक्रम गर्न लागेको नगरपालिकाले जनाएको छ।

त्यसबारे छलफल गर्न नगरपालिकाले बिहीबार सर्वपक्षीय वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। भ्रमण वर्ष सफल बनाउन राष्ट्रिय पर्यटन बोर्डले देशव्यापी पर्यटन वर्ष सञ्चालन गरिरहेका बेला नगरपालिकामा अधिकतम पर्यटक भित्र्याउने कार्यक्रम गर्न आवश्यक सुझाव माग्न सर्बपक्षीय छलफलको आयोजना गरिएको हो।

भ्रमण वर्ष सफल पार्न उदयपुरमा पनि व्यापक पर्यटक भित्र्याउनुपर्ने आवश्यक्ता भएकाले सरोकारवालाहरुको सुुझाव संकलन गर्न सर्वपक्षीय छलफलको आयोजना गरेको नगरप्रमुख बलदेव चौधरीले बताए। उनले सरकारको घोषित नीति लागू गर्न स्थानीय सरकारहरु प्रतिबद्ध भएर लाग्नुपर्ने भएकैले त्रियुगाले पनि पर्यटक भित्र्याउने विषयमा गृहकार्य गरिरहेको बताए। उनले जिल्लाको सदरमुकाम नगरपालिका भएकाले उदयपुरमा ५० हजार पर्यटक भित्र्याउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको र छलफलबाट प्राप्त सुझाव अनुुसार कार्यक्रम अघि बढाउने बताए।

मेयर चौधरीले जिल्लाका बिभिन्न पर्यटकीयस्थलहरुमा बढी भन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले नगरपालिकाले लिएको छ। त्यसका लागि एक्लै र अन्य स्थानीयतहहरुसँगको साझेदारीमा समन्वयात्मक पर्यटनमैत्री कार्यक्रम आयोजना गर्ने योजना उनले सुनाए। पर्यटकलाई उदयपुर आउँदा कसरी सहज र सरल वातावरण बनाउन सकिन्छ भन्ने विषयमा सरोकारवालाहरुको सुझाव लिएर कार्यक्रम अघि बढाउने अन्तरक्रियामा मेयर चौधरीले बताए।

पर्यटकलाई आवश्यक पर्ने सेवासुविधाको पक्षमा सुधार गर्नुपर्ने पक्षहरु थुपै बाँकी रहेको विषयले अन्तरक्रियामा स्थान पाएको थियो। पर्यटकहरु केही हेर्न, खान र अनुभव गर्न आउने भएकाले उनीहरुलाई आकर्षित गर्नेदेखि सहज महसुस गर्ने वातावरण बनाउन सरोकारवालाहरुले नगरपालिकालाई सुझाए। सबभन्दा ठूलो कुरा पर्यटकलाई खाने, बस्ने व्यवस्थादेखि हिडडुल, पैद र सवारी यात्राजस्ता आधारभूत कुराहरुको व्यवस्थापन गर्नुपर्नेमा पनि सहभागीहरुले जोड दिए।

त्यस्तै ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका स्थानहरुबारे जानकारीमूलक सामाग्री, प्रचारप्रसारको उत्तिकै खाँचो हुने सहभागीले सुझाए। अहिलेको समयमा इन्टरनेट सेवा अनिवार्य भईसकेको कुरालाई पनि उत्तिकै महत्व दिनुपर्ने सुझाव सहभागीहरुको थियो।

बाहिरबाट आउने पाहुनालाई स्वागत, सत्कार र सम्मान गर्ने विषयप्रति पनि उत्तिकै सजग हुनुपर्ने हुनाले पर्यटक र पर्यटनको विषयमा स्थानीयबासीलाई जानकारी गराउने पनि आवश्यक हुने बताइयो। पर्यटन विकासको नाममा कतिपयले कमाऊ धन्दा चलाउने खतरा पनि त्यत्तिकै हुने हुँदा त्यसप्रति पनि सचेत हुनुपर्ने सहभागीले बताए। त्यस्तै स्थानीय सडकहरु, होटल, लज, पर्यटनस्थलहरु सफा र व्यवस्थित गरेर पर्यटकलाई आकर्षण दिन सकिने बताएका थिए।

नगरपालिकाले भ्रमण वर्ष सफल बनाउन स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, होटल व्यवसायी, उद्योगी व्यापारी, पत्रकार, सरकारी तथा गैरसरकारी संघसंस्था, अधिकारकर्मी, कलाकार, विद्यार्थी, युवा, यातायात व्यवसायी, सुरक्षाकर्मी सबैलाई गोलबन्द गरेर अघि बढ्नुपर्ने निश्कर्ष निकालिएको छ।

कार्यक्रममा जिल्ला प्रमुख एसपी वीरबहादुर मगरले उदयपुर भित्रिने पर्यटकको सुरक्षाको पूर्ण ग्यारेन्टी लिने प्रतिबद्धता जनाए। अन्य क्षेत्रसँग सम्बन्धित बिभिन्न व्यक्तिहरुले आआप्mनो पक्षबाट पर्यटन वर्ष सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

 

प्रकाशित: ३ माघ २०७६ ०९:४९ शुक्रबार

त्रियुगा पर्यटक