समाज

लुट्दा लुट्दै प्रहरी पुगेपछि...

सर्लाही- लुटपाटको आरोपमा सर्लाहीको हरिपुर प्रहरीले बुधबार राती एक युवकलाई पक्राउ गरेको छ। लुटपाटमै संलग्न पाँच जना भने भाग्न सफल भएको प्रहरीको दाबी छ।

सर्लाहीकै बसबरिया गाउँपालिका–४, धनगढा स्थित गोनरवा टोलाका १९ वर्षीय रोहित कुमार साह लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन्। राती १० बजे कविलासी नगरपालिका–५, रनिँया स्थित नहरको बाटो हुँदै घर फर्किरहेका स्थानीय बेचु महतोलाई नियन्त्रणमा लिएर मोबाईल एवं नगद लुट्दै गरेको अवस्थामा साहलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए।

प्रहरी निरीक्षक साहका अनुसार बाटोमा ढुकेर बसेका ६ जनाको लुटेरा समहूले मोटरसाइकलमा जाँदै गरेका महतोलाई रोकेर लुटपाट गर्दैगर्दा प्रहरी गस्ती टोली पुगेको थियो। दुईवटा भारतीय मोटरसाइकलमा ३–३ जना को समूहमा रहेका लुटेरा समूह मध्ये ३ जना केही टाढा प्रहरीको निगरानी गर्ने र ३ जनाले भने महतोलाई रोकेर लुटपाट गरिरहेको प्रहरीको दाबी छ। बीआर ३० भी ८३०७ नम्बरको पल्सर मोटरसाइकलमा सवार साह सहित अन्य दुईजनाले महतोलाई नियन्त्रण्मा लिएर लुटपाट गरेको र बीआर ३० यु ०७५९ नम्बरको होण्डा साइनमा सवार तीनजनाले भने सुरक्षाकर्मीको सुराकी गर्ने काम गरेका थिए।

लुटपाट हुँदै गरेको समयमा प्रहरी गस्ती टोलीको बाटो त्यही परेपछि तत्काल एकजनालाई नियन्त्रणमा लिन सफल भईएको प्रहरीले जनाएको छ। अन्य पाँचजना भने मोटरसाईकल छाडेर भाग्न सफल भएको प्रहरी निरीक्षक साहले जानकारी दिए। प्रहरीले साहलाई नियन्त्रणमा लिएसँगै घटनास्थलबाट दुइवटा मोटरसाइकल बारमद गरेको छ।

      केही महिनायता कविलासी नगरपालिका क्षेत्रमा लघुवित्त वितिय संस्थाका दुईजना कर्मचारी लुटिएका थिए। दुई छुट्टाछुट्टै लुघुवित्तका दुई कर्मचारीबाट लाखौं नगद लुटिएपनि प्रहरीले लुटपाटमा संलग्नलाई पक्राउ गर्न सकेको छैन।

प्रकाशित: २ माघ २०७६ १२:०१ बिहीबार

लुटपाट प्रहरी पक्राउ