समाज

नेपालकै ठूलो बुद्धमुर्ति निर्माण हुँदै

सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपालकै ठूलो बुद्धमुर्ति स्थापना हुने भएको छ। वीरेन्द्रनगर–६ स्थित बुद्धसरोवरमा सय आठ फिट अग्लो बुद्धमुर्ति स्थापना गर्न लागिएको हो। बुद्ध सरोवर समितिका अनुसार बुद्धमुर्ति स्थापनाका लागि कर्णाली प्रदेशका हरेक नागरिकसंग एक सय रुपैयाँ दान मागिने छ। अध्यक्ष पञ्चसिंह रोकायले धर्मजप माला एक सय आठ दानाको हुने भएकोले एक सय आठ फिटकै मुर्ति बनाउने निर्णय भएको बताए।

समितिले मुर्ति निर्माण स्थापनाका लागि शुक्रवारदेखि पाँच दिनसम्म वीरेन्द्रनगरमा धम्म देशनाको आयोजना गर्दैछ। धम्म देशनामा विभिन्न क्षेत्रका धर्म गुरुहरुले दानको महिमाका बारेमा प्रवचन दिने समितिका महांसचिव जीवनकुमार शाक्यले बताए। शाक्यका अनुसार उक्त मुर्ति बनाउनका लागि ९ देखि ११ करोड लाग्ने अनुमान गरिएको छ। विभिन्न आकारमा बुद्धका मुर्तिहरु र पानीको फोहोरासहितको मुख्य मुर्ति बनाइने छ। दानकोस्तर अनुसार दाताहरुलाई सम्मान, शिलालेखमा नाम लेख्ने जस्ता कार्यक्रमहरु पनि रहेको समितिको भनाई छ। यस्तै बुद्ध सरोवर व्यवस्थापन समितिले साधारण सदस्यता, आजिवन सदस्यता, मानार्थ सदस्यता, सल्लाहकार सदस्यताको व्यवस्था समेत गरेको छ।

प्रकाशित: २ माघ २०७६ ०७:३९ बिहीबार

बुद्धमुर्ति निर्माण धर्म