समाज

त्यो नब्बे सालको भूकम्प

प्रत्येक वर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प दिवसका रूपमा मनाउने गरिएको छ। १९९० माघ २ गते सोमबारको महाभूकम्प भोग्ने व्यक्तिहरू अझै हाम्रो समाजमा छन्। त्यो भूकम्पका बारेमा बताउने जानकारहरूबाटै त्यसको भयाबह स्थितिबारे अहिलेसम्म चर्चा हुँदै आएको छ।

१९९० सालमा ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो। अहिले शतायु प्रवेश गरिसकेका राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशीलगायतले त्यो भूकम्पको अनुभव गरेका थिए। वाल्यकालमा भूकम्प जाँदा गरेको अनुभव जोशीले बेलाबेलामा सुनाउने गरेका छन्।

जोशीका अनुसार, सुरुमा उनलाई रुखहरू नाँचेको जस्तो लागेर रमाइलो अनुभव भएको थियो। पछिमात्र उनलाई भूकम्प गएको रहेछ भन्ने थाहा भयो।

त्यो बेलाको भूकम्पका बारेमा निकै रोचक ढंगले ब्रह्मशमशेरले पुस्तक लेखेका छन्। ‘नेपालको महाभूकम्प’ का नाममा उनले लेखेको त्यो पुस्तक केही पुराना मानिसले पहिल्यै पढेका र आफ्नो संकलनमा राखेका थिए। २०७२ वैशाख १२ को भूकम्पपछि यो पुस्तकको माग फेरि भयो। अनि १९९० सालको भूकम्पबारेसमेत सोधीखोजी सुरु भएको हो।

वास्तवमा नब्बे सालको भूकम्पले समाजमा धेरै प्रभाव पारेको थियो। तर यस्ता ठूला विपत्तिबाट मानिसले आफूलाई भुलाउँदै नयाँ परिस्थितितर्फ जान्छन्। यस्ता घटनाले भवन निर्माण आदि संरचनामा परिवर्तन ल्याउँछ। मानिसमा सुरक्षित बसोबासतर्फ चासो पनि बढ्छ।

२०७२ को भूकम्पले नब्बे सालको भूकम्प कति भयाबह थियो भन्ने बुझाउन फेरि मद्दत गरेको छ। एक हिसाबले भन्ने हो भने ६२ वर्षपछि आएको त्यो आपतले हाम्रो अघिल्लो पुस्ताको परिस्थितिबारे सम्झन र सोच्न हामीलाई बाध्य पा-यो।

१९९० सालको भूकम्प गएको चार वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले यस्तो भनेका रहेछन्–यस्तो दैवी चोट हामीलाई मात्र परिआएको होइन, कालचक्रको हेरफेरले अन्तअन्त पनि परेको सुनिएकै छ। त्यस्तो परिआउँदा त्यहाँका बासिन्दाहरूले धैर्यधारण गरी दुःखबाट शिक्षा लिई उद्योगधन्दातिर झन् मन बढाइ आफ्नो आँत र मेहनतको जोरले ती अघिभन्दा बलिया भई निस्कने गर्दछन्। यही नेपालमा पनि शक्ति सिंहदेवका पालामा भूकम्पको उत्पात् भएको थियो भन्ने इतिहासको लेख देखिन्छ। त्यत्तिको टाढाको के कुरा सय वर्षअगाडि १८९० सालमा पनि यस्तै उत्पात्ले धेरै धनजन, घर, देवालय, सहरको नास गरेको रहेछ।

प्रकाशित: २ माघ २०७६ ०४:३४ बिहीबार

नब्बे_साल भूकम्प