समाज

‘राष्ट्रिय एकतालाई माघीले थप सुदृढ गर्नेछ’

फाइल तस्बिर: नागरिक

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकतालाई थप सुदृढ पार्न सबैलाई आग्रह गरेकीछिन्। माघे सङ्क्रान्तिको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले मुलुकभित्र मनाइने विभिन्न चाडपर्वले आपसी एकता र भ्रातृत्वलाई मजबुत बनाउन योगदन पुग्ने जनाएकीछिन्। त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पनि छुट्टाछुट्टै सन्देशमार्फत शुभकामना दिएका छन्।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको जनाउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यहाँ प्रचलित पर्वहरूका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन्। सुदृढ एकता र सहिष्णुताको यस पूँजीलाई हामीले देश निर्माणमा सदुपयोग गर्नु पर्दछ।’

त्यस्तै, कांग्रेस सभापतिसमेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले माघ १ गते ‘मकर सङ्क्रान्ति÷माघे सङ्क्रान्ति’ लाई नेपालका विभिन्न जातजातिहरूले विशेष पर्वका रूपमा मनाउँदै आएको स्मरण गरेका छन्।

नेपाल प्राचीन कालदेखि विभिन्न जात, जातिहरूको बसोबासको संगम स्थल रहेको भन्दै देउवाले भनेका छन्, ‘भौगोलिक, जातीय र सांस्कृतिक विविधतामा रहेको नेपालमा मनाइने यो पर्व– आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना वढाउने काममा कोशेढुंगा सावित भएको छ।’

प्रकाशित: १ माघ २०७६ ०४:४२ बुधबार

राष्ट्रिय_एकता माघी