समाज

गोरु जुधाएर मनाइँदै माघे सङ्क्रान्ति

फाइल तस्बिर: नागरिक

नुवाकोट – माघे सङ्क्रान्तिका अवसरमा नुवाकोटका विभिन्न पाँच स्थानमा गोरु जुधाइ मेला आयोजना गरिएको छ। जिल्लाको तारूका, बेत्रावती, सातविसे, पञ्चकन्या र कट्टिछाँपमा गोरु जुधाइ मेलाको आयोजना गरिएको छ। ती स्थानमा गोरु जुधाइ मेला सञ्चालनको लागि आवश्यक तयारी गरिएको आयोजकले जनाएको छ। जिल्लाभर ५३ हल गोरु जुधाइ प्रतियोगितामा सहभागि हुने नाम दर्ता गराएको आयोजकको भनाइ छ।

‘तारुकाको पौरख, नेपालको गौरव’ भन्ने नारासहित नुवाकोटको तार्केश्वर गाउँपालिका–३ तारुकामा यस वर्ष २२ हल गोरु दर्ता भएको माघे सङ्क्रान्ति संरक्षण समितिका सचिव केशवप्रसाद रिमालले जानकारी दिए। बझांगी राजकुमार जयपृथ्वीबहादुर सिंहको उपस्थितीमा १८८७ सालदेखि सुरु भएको गोरु जुधाइ प्रतियोगितालाई नुवाकोटको तारुकावासीले संरक्षण गर्दै आएका छन्।

स्थानीय सरकारको सहयोगमा इतिहासलाई संरक्षण गर्दै गोरु पाल्ने किसानलाई प्रोत्साहन र थोरै ठाउँमा सञ्चालन भएको गोरु जुधाइ उत्सवलाई विश्वभर पु-याउन समिति केन्द्रित रहेको सचिव रिमालले बताए। यस्तै नुवाकोटको पञ्चकञ्या गाउँपालिका –३ पिपलडाडामा जुधाउनको लागि यस वर्ष ८ हल गोरु दर्ता भएका छन्। पञ्चकन्यामा नवप्रतिभा युवा समूहले गोरु जुधाई प्रतियोगिताका आयोजना गरेको छ। समूहका अध्यक्ष शिवहरी विष्टकाअनुसार प्रथम हुने गोरुलाई १५ हजार, दोस्रोलाई १० हजार, तेस्रोलाई ५ हजार रूपैयाँ र सहभागी भएका अन्य सबै गोरु धनीलाई एक हजार रूपैयाँसहित पमाणपत्र उपलब्ध गर्ने तयारी छ।

लिखु गाउँपालिकाको सहयोगमा मगर संघले कट्टिछापमा २ हल र तादी गाउँपालिका –४ सातविसेको सार्कीबगरमा १० हल गोरु जुधाइ उत्सवमा सहभागि हुनका लागि दर्ता भएको आयोजकले जानकारी दिएको छ।

तीन स्थानीय तहमा विदा
माघे संक्रान्ती पर्व मनाउन नुवाकोटको दुई र रसुवाको एक स्थानीय तहले सार्वजनिक विदा दिएका छ। स्थानीय पर्वको रूपमा नुवाकोटका ककनी र म्यागङ गाउँपालिका तथा रसुवको उत्तरगया गाउँपालिको बुधबार सार्वजनिक विदा दिएको सार्वजनिक सूचना मार्फत जानकारी गराएका छन्।

बेत्रावतीमा ११ हल गोरु जुधाइने
रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा बुधबार ११ हल गोरु जुधाइने भएको छ। हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा गोरु जुधाइ मेला सञ्चालन गर्दै आएकोमा यो वर्ष पनि प्रतियोगिता सञ्चालन हुने भएको हो। नाम दर्ताको अन्तिम दिनसम्म ११ हल गोरु दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जानकारी दिएको छ।

नेपाल र तिब्बतबीच १८४९ असोज १७ गते वेत्रावती सन्धी भएको खुसियालीमा मनाइने गोरु जुधाइले ग्रामीण पर्यटन प्रर्वद्घन गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ। परम्परालाई मान्यता दिँदै २२ वर्षदेखि स्थानीयले गोरु जधाइ प्रतियोगिता गरेर खुसियाली साट्ने थलोका रूपमा विकास आएको स्थानीयको भनाइ छ। गोरु जुधाइ अवलोकन गर्नका लागि रसुवासहित नुवाकोट, काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुरलगायतका जिल्लाबाट सर्वसाधारण तथा पर्यटकको सहभागीता हुने गर्दछ।

कृषिमा आधुनिकीकरणले गर्दा हाते ट्याक्टरको प्रयोगका कारण गाउँघरमा गोरु हराँउदै गएपछि प्रतियोगिता सञ्चालनमा समस्या आउने गरेको क्लवको भनाइ छ। २०५३ सालअघिसम्म गोरु जुधाइ समिति गठन गरेर प्रतियोगिता सञ्चालन गर्दै आएको भएपनि त्यसपछि भने क्लबले गोरु जुधाइ आयोजना गर्दै आएको छ।

प्रकाशित: १ माघ २०७६ ०४:३४ बुधबार

माघे_सङ्क्रान्ति गोरु_जुधाइ